यसरी ग्राहक खोज्छन् तल्लो बाटो अमेरिका पठाउनेहरु

काठमाडौं । २०८० साल मँसिर महिनाको २७ गते बिहान फेसबुकको वालमा Sky Travel को नाममा फुत्त एउटा बिज्ञापन देखियो । Offer Offer Offer, America Business Visa, Direct America, Flight to Flight. हाम्रो अनलाइन पत्रीका www.nepaltravelpost.com यस्तै बिज्ञापनको खोजीमा थियो । यसले नेपालबाट तल्लो बाटो अमेरिका पठाउने गिरोहको पर्दाफास गर्न सक्थ्यो ।

बिज्ञापनमा अमेरिकाको कहिल्यै नदेखिएको भिषा, भिषा अप्रुभल भएको नक्कली कागज र सँगै ब्राजिलको भिषा पनि थियो । अमेरिकाको भिषा सम्पादन गरेर बनाइएको जस्तो भान हुन्थ्यो ।

मैले त्यसलाई सम्पर्क गरेँ । यसको फेसबुक पेज हेरेँ, जम्मा जम्मी दुइजनाले लाइक गरेको रहेछ, तीन जनाले फलो गरेको रहेछ । मैले बुझिहालेँ, यो गिरोह नै हो । न कुनै अफिसको ठेगाना, न टेलिफोन नम्बर न कुनै मेहनेतले बनाइएको लोगो । केही थिएन ।

एक छिन कुरा गरेपछि मैले फोनमा कुरा गर्ने आग्रह गरेँ उताबाट पनि हस भन्ने कुरा भयो । मैले फोन मागेँ, कार्यालयको ठेगाना मागेँ तर सबै फाइनल भएपछि मात्रै अफिस देखाउने कुरा भयो ।

उताबाट उल्टै मेरो ह्वाट्स एप नम्बर मागियो, मैले दिएँ र अललाइन मार्फट कुरा भयो । खासमा कुरा के रहेछ भने उनीहरुले नेपालबाट दुवइ लैजाने रहेछन् । त्यसको लागि एक लाख नेपाली रुपैयाँको साथमा भिषा अगाडि पासपोर्ट र एउटा फोटो दिनु पर्ने रहेछ । दुवइमा १५ दिन देखि २० दिन भित्रमा अमेरिकाको नमुनामा देखाए अनुसारको बिजनेस भिषा लिने रहेछ । त्यसका लागि नेपाली १० लाख रुपैयाँ दिनु पर्ने रे ।

मैले बिचैमा सोधेँ, यदी मान्छेले बिजनेस भिषा पाएन वा उढडेन भने पहिला दिएको एकलाख के हुन्छ? उसले भन्यो, त्यस्तो हुँदै हुृँदैन, अहिलेसम्म भएकै छैन । ल मैले त्यो पनि मानेँ । यदि भै हाल्यो भने चै यूरोपको भिषा लगाएर ब्राजिल लैजाने अनि त्यहाँबाट उही क्यूवा, पनामा, मेक्सिको हुँदै जाने ।

मैले भनेँ यदि हिड्न सकिन भने के गर्ने नि ? उसले भन्यो, यदि फर्किन मन लाग्यो भने वा हिड्न सकिन भने पैसा फिर्ता दिने । मैले फेरि भने यसरी त हुँदैन तपाईँको नेपालको एजेन्ट भेटाउनुस चित्त बुझ्यो भनेँ म सिधा अमेरिका चै जाने हो ।

लगभग ह्वाट्स एपमा ७ मिनेट कुरा भएछ । ३० वा ३५ बर्षको जस्तो लाग्ने युवा आवाज थियो । सँका हुन्छ भनेर मैले नाम चै सोधिन । अमेरिका पुग्दा ७५ लाख जति खर्च हुने रे, ४ दिनमा काम हुने रे । अफरहरु निकै आकर्षक थिए ।

त्यो एजेन्ट चै अजरबैजान बस्ने रहेछ । यति भने पछि उसले नेपालको एजेन्ट भेटाउने बाचा गरेर बिदा लियो । अन्तीममा उसले भन्यो अरु ग्रुप भए ग्रुपमा गर्नुहोस सस्तो पर्छ ।

उसको बिज्ञापन देख्दा साँच्चै हो जस्तो थियो । साधारण मानिसहरु जो जसरी पनि अमेरिका जानुछ भन्नेहरु यसमा सजिलै फस्ने लाग्थ्यो । त्यो एजेन्टसँग कुरा गर्दा पनि एकदमै बिस्वासिलो र फटाफट काम भए जस्तो लाग्यो । यसबाट के लाग्छ भने नेपालबाट मानव तस्कर गर्ने गिरोहको सँजाल सँसारभरि छ, उनीहरु तयारीका साथ बसेका छन् ।

भुटानी सरणार्थी प्रकरण पछि त झनै नेपालीहरुलाई यहाँ बसेर काम छैन रहेछ भन्ने भान भएको छ । यस्तो एजेन्टको पछि लागेर हिँड्दा ज्यानको जोखिम त हुने नै भयो भोलिका दिनमा सम्पती, परिवार सबै बर्बाद हुनेमा कुनै सँका छैन ।

(एजेन्ट सँगको कुराकानीमा आधारमा तयार गरिएको समाचार)

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार