सेयर बजार घट्दा ८ अर्बभन्दा बढी राजस्व गुम्यो

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेप्से परिसूचक घट्यो, कारोबार रकममा पनि उल्लेख्य गिरावट

काठमाडौँ, सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज २४ सम्म) सेयर बजारबाट सरकारलाई
प्राप्त राजस्वमा आएको कमीका आधारमा यस्तो विश्लेषण गरिएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा सेयर बजारबाट सरकारलाई कुल ३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ मात्र राजस्व (पुँजीगत लाभकर र अग्रिम कर कट्टी) प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ८ अर्ब रुपैयाँले कम हो। आर्थिक वर्ष ०७८/७९ मा सेयर बजारबाट ११ अर्ब ४० करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा नेप्से परिसूचक घट्नुका साथै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएपछि सेयर बजारबाट उठ्ने करमा ठूलो गिरावट आएको जानकार बताउँछन्। चालु आर्थिक वर्षको तीन महिना (गत साउन, भदौ र असोज २४ सम्म) मा सेयर बजारबाट ८२ करोड ६४ लाख ७५ हजार रुपैयाँ कर प्राप्त भएको छ। उल्लिखित कुल राजस्व रकम सेयर बजारबाट प्राप्त पुँजीगत लाभकर (सीजीटी) र अग्रिम करकट्टी (टीडीएस) मार्फत संकलन भएको हो।

चालु आर्थिक वर्षको तीन महिनामा सीजीटीमार्फत ७३ करोड ४ लाख ६ हजार र टीडीएसमार्फत ९ करोड ६० लाख ६८ हजार रुपैयाँ कर प्राप्त भएको छ। पछिल्ला वर्षमा समग्र सेयर बजार नै घटेपछि सरोकारवाला (नेप्से, सीडीएस, ब्रोकर कम्पनी आदि) को आम्दानी घटेपछि टीडीएसमा पनि कमी आएको हो।

०७८ भदौ २ मै नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु (३ हजार १ सय ९९ बिन्दु) मा थियो। नेप्सेको अघिल्लो उच्च बिन्दु ०७२ साउन १२ मा थियो। त्यति बेला नेप्से परिसूचक १ हजार ८ सय ८१ बिन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो। त्यसयता घटेको बजार पुनः बढेर गत भदौ २ मा नेप्से परिसूचक, बजार पुँजीकरण, कारोबार रकमलगायत सूचक हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनेको थियो। त्यसयता फेरि बजार ओरालो लाग्न थाल्यो। यही कारण उच्च बिन्दुको तुलनामा अहिले नेप्से करिब ५९ प्रतिशत र कुल बजार पुँजीकरण करिब ६४ प्रतिशतले घटिसकेको छ।

नेप्सेले हालसम्मकै उच्च बिन्दुमा रहँदा सेयर बजारमा मासिक औसत दैनिक कारोबार १२ अर्ब ७२ करोड रुपैयाँ पुगेको थियो। गत भदौसम्म आइपुग्दा मासिक औसत दैनिक कारोबार रकम पनि घटेर १ अर्ब ९८ करोड रुपैयाँमा सीमित छ। कारोबार रकममा उल्लेख्य गिरावट आएपछि सेयरबाट संकलन हुने राजस्व पनि घटेको हो। हाल सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ देखि साढे ७ प्रतिशतसम्म प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ।

यसअनुसार एक वर्षभन्दा बढी समयमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको ५ प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। तर संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ। सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन। कुल सेयर कारोबारमा अधिकांश हिस्सा व्यक्तिगत लगानीकर्ताको छ भने संस्थागतको संख्या न्यून छ।

गएको डेढ वर्षमा सेयरधनीको सम्पत्तिको मूल्य करिब १६ खर्ब रुपैयाँले घटेको छ। ०७८ भदौदेखि गत बिहीबार (असोज २५) सम्ममा दोस्रो बजारमा सूचीकृत सेयरको मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो। उक्त अवधिमा सेयर बजारको आकार अथवा कुल बजार पुँजीकरण (स्टक एक्सचेन्जमा सूचीकृत सबै सेयरको बजार मूल्य) करिब १५ खर्ब ९६ अर्ब रुपैयाँले घटेको छ।

०७८ भदौ २ मा कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो। गत बिहीबारसम्म यो २८ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ। नेप्सेमा सूचीकृत कुल सेयरलाई तिनको पछिल्लो बजार मूल्यले गुणन गरेर कुल बजार पुँजीकरण निकालिन्छ, जसलाई सेयर बजारको आकार भनिन्छ। सेयर मूल्य बढेको अवस्थामा कुल बजार पुँजीकरण पनि बढ्छ। घटेको अवस्थामा पुँजीकरण पनि घट्छ। हाल सेयर बजार घट्दो क्रममा रहेकाले कुल बजार पुँजीकरण पनि निरन्तर रूपमा घटिरहेको सरकारी तथ्यांकले देखाएको छ।

यसअघि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ अंकसम्म पुगेको सेयर बजार घट्न थालेपछि केही ठूला लगानीकर्ताले सेयर बेचेर लगानी अन्य क्षेत्रमा स्थानान्तरण गरेका थिए। त्यो लगानी बजारमा फर्किन सकेको छैन। यसैबीच बजारमा तरलता अभाव भन्दै बैंकहरूले पनि कर्जा प्रवाह रोके, राष्ट्र बैंकले पनि नीतिगत कडाइ गर्न थाल्यो। त्यसको असर सेयर कर्जामा देखिएको जानकारहरूको तर्क छ। तर, गत आर्थिक वर्षको पछिल्लो ६ महिना यता वित्तीय प्रणालीमा तरलता अवस्था सहज छ। ब्याजदर अपेक्षित रुपमा नघटेपनि बढ्न सकेको छैन। तरपनि बजारमा अपेक्षित रूपमा सुधार आएको छैन।

सेयर बजारको सुधारका लागि भन्दै गत साता नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएको छ। तर त्यसपछिका तीन कारोबार दिन (आइतबार, सोमबार, मंगलबार र बिहीबार) नेप्से उच्च अंकले घटेको छ। बिहीबार सामान्य अंकले बढे पनि बाँकी सबै कारोबार दिन घटिरहेको थियो। नेप्सेको यो प्रवृत्तिलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएका रूपमा विश्लेषण गरिएको छ। पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रूपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ। यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो।

कान्तिपुर, यज्ञ बञ्जाडे

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार