सांकेतिक तस्बिर Facebook बाट लिएको हो
अमेरिकी एमि हिजो बेग्लै थिई । ड्रङ्क अर्थात मस्त मातेकी । खुट्टा भुईँमा अडेका थिएनन्। म झट्ट स्टोरभित्र के छिरेको थिएँ, एक बट्टा चुरोट किनेर बाहिरिने क्रममा मलाई सोधी,
हे सानु ! हाउ आर यू ?
आई एम ओके, हाउ एबाउट यू ?
आई एम चिलिङ्ग, फिलिङ्ग सो गुड ।
ऊ खासमा होमलेस थिई । व्वाईफ्रेन्ड पनि होमलेस भएकाले उनीहरू झाडी वा कुनै सार्बजनिक स्थानमा ओत लागेर बसेको १० वर्षदेखि देखिरहेको छु।
हिजो आफ्नो केटा साथीसँग थिई । उसलाई पार्किङ्ग लटको सेतो कारमा अर्का गोरा पर्खिरहेको थियो । जो अधिकांश समय लिक्कर स्थानीय अन्नपात वा फ्रुटबाट बनेको रक्सीको लती छ । कमाइ राम्रै छ । स्थानीय फर्निचर कम्पनीमा फर्निचरको सप्लाई र डेलिभरी गर्छ। नजिकै आफ्नो घर र गाडी छ। ड्रिङ्किङ्ग एन्ड ड्राइभिङ्गमा धेरैपटक प्रहरी र कानुनको सामाना परे पनि जिन्दगीलाई चाहे जस्तै चलाइरहेको छ । जब रक्सीले मस्त हुन्छ, तब डलर छर्ने र सामान किनेर बाँडिदिने गर्छ।
एमिको सान र शैली होमलेसको रुपमा छैन। आज तिनै गोराको घरमा बास बस्छे । कार चढेको र घरमा बास बसेको वर्षौँपछि उसको स्तर बढेको छ । त्यो एकदिन र एक रातको लागि मात्र हो भन्ने एमिलाई न हेक्का छ, न सोचेकी छे । जुन कुरा उसको चालढाल र बोल्ने शैलीले देखाइरहेको थियो।
चट्ट प्यासेन्जर साइडको ढोका खोली । बस्ने शैली धनी व्यक्तिको भन्दा कम छैन । म उसलाई ढोकाबाट बाहिर निस्केर नियालिरहेको थिएँ । त्यति नै बेला एमिको पूर्व साथी वा चिनेको मानिस अर्को कारमा अर्को एक्जिटबाट बाहिरिदै थिए । त्यति नै बेला उसले पूर्व साथीलाई देखि । कारको ढोका खोलेर बाहिर निस्केर हात हल्याउदै भनि, हे वडी ! ह्वाट यू अप टु म्यान ?
अर्का गोराहरूले सरप्राइज हुँदै कारलाई नियालिरहेका थिए । एमि चाहन्थी, उसका साथीहरूले देखुन् कि, आज ऊ कारमा छे । कसैको घरमा रात बिताउनका लागि गैरहेकी छे।
ऊ गरिब । न कार छ, न बास नै । सिर्फ उसका हातमा सानो पर्स र लाउने लुगा बाहेक आफ्नो सम्पति भन्नु अरू छैन। अधिकांश समय बिना जुत्ता र चप्पलमै हिँड्छे।
ऊ हिजो यति खुसी थिई कि, जीवनमा खुसी हुँदाको अनुभूति लिइरहेकी थी। केटाहरूलाई हात हल्याउँदै फेरि कारमा चढी। जिउडाल र प्रस्तुति रक्सीले माते पनि उसमा आज जीवनकै विलासिता सदुपयोगको अनुभूति प्राप्त गरिरहेको देख्न सकिन्थ्यो।
आज बिहान फेरि उसलाई देखेँ । रातभर आफ्नो घरमा राखेर फेरि सडकमा ल्याएर छोडिदिएको छ। एमि फेरि सडकमा आएकि छे। हिजो मनग्गे रक्सी पिउने अवसर प्राप्त गरी। कार चढ्ने अवसर प्राप्त गरी । बास बस्ने घरको पहुच प्राप्त गरी । मात्र एक रातका लागि । गोराले फेरि त्यस्तै अबसर अर्को पटक नदिएसम्म । अर्को कुनै गोरा वा जो कसैले त्यस्तै अवसर नदिएसम्म।
हिजो उसले पिएको रक्सी, चढेको कार र बास बसेको घर सबै केही समयका लागि थिए। आज बिहान सडकमा ल्याएर छोडिदिएपछि एमि फेरि आफ्नै व्वाईफ्रेन्डलाई खोजिरहेकी छे। त्यही व्वाइफ्रेन्ड, जो उसको स्थायी हो । जहाँ एक झाडीमा १० वर्षदेखि सँगै सुतिरहेका छन् । र बसिरहेका छन्। आज एमिसँग एक मोहोर पनि छैन । न त हिजोको एक बट्टा चुरोट नै । ऊ आज फेरि उसको व्वाईफ्रेन्डसँग केही डलर भएको भए चुरोट, सोडा वा बर्गर किन्थे र भोक तिर्खा मेटाउथे ।
रक्सी, लागु औषध र कुलतले न त स्कुल गै, न त कलेज नै । न त घर छ । न त कार, न कुनै सपना नै।
रात बसेको गोरा, हिजो पिउन पाएको रक्सी, गोराले चढ्न दिएको कार र हिजोको सान र शैली सबै अस्थायी थिए । उसको स्थायी घर झाडी । स्थायी म्यान व्वाईफ्रेन्ड । सपना चुरोट, रक्सी र सोडा । त्यो पनि भनेको त्यही व्वाईफ्रेण्डले कमाएर ल्याएसम्म । अरू बाँच्ने आधार भनेको फुडस्ट्याम्प । जुन अमेरिकी सरकारले हरेक महिना दिनेगर्छ।
अनि हामी चाहिँ अमेरिकी सपनाको दौडमा त्यही सपना टिप्न मरिहत्ते गरिरहेका छौँ ।