गोरखाको उत्तरी नाका खुल्यो, चीन प्रवेश गर्न पाइने

गोरखा — सीमा क्षेत्र अन्तर्गत चुमनुव्री गाउँपालिकावासीलाई चीन प्रवेशका लागि अनुमति पत्र (बोर्डर पास) वितरण सुरू गरिएको छ । कोभिड महामारीका कारण झण्डै चार वर्षदेखि बन्द भएका उत्तरी गोरखाको दुवै नाका चीन सरकारले खुल्ला गरेसँगै प्रवेशका लागि बोर्डर पास वितरण थालिएको हो ।

दुई साताअघि चीन सरकारले नाका खुल्ला गरेपनि पास नहुँदा स्थानीयले प्रवेश पाएका थिएनन् । जिल्ला प्रशासन कार्यालय गोरखाले बुधबारबाट चुमनुव्री गाउँपालिका ३ सिर्दिवासस्थित फिलिमको इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण थालेको छ ।

बोर्डर पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना नेतृत्वको टोली फिलिम पुगेका छन् । चुमनुव्रीको ३ नम्बर वडा बाहेक अन्य वडाका स्थानीयलाई बोर्डर पास वितरण हुने रानाले बताएका छन् ।

सीमा क्षेत्रबाट ३० किलोमिटर भित्र बसोबास गर्नेहरुले मात्र चीन प्रवेश गर्न पाउने छन् । ‘आजबाट बोर्डर पास वितरण थाल्यौँ । अहिलेसम्म ६ वडाको वितरण भइसकेको छ ।’ रानाले भने । नागरिकताको आधारमा दुई प्रति फोटो र स्वयं व्यक्ति उपस्थित भएर पास लिन सक्ने उनले बताएका छन् । गृह मन्त्रालयले पठाएइको डिजाइन अनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले पास छपाइ गरेको थियो ।

बोर्डर पास वितरण भएसँगै अब दैनिक उपभोग्य सामाग्री खरिदका लागि तिब्बतको बजार पुग्न सहज बन्ने चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताएका छन् । नाका खुलाउन र बोर्डर पासको व्यवस्थाका लागि गाउँपालिकाले निरन्तर पहल गर्दै आएको थियो ।

‘उताबाट २०/२५ दिनअघि नै नाका खुलेको र आउनुस् भनेर जानकारी आइसकेको थियो ।’ उनले भने, ‘केही नीतिगत कुरा मिलाएर, बोर्डर पासका लागि निरन्तर पहल भएपछि आजबाट वितरण पनि सुरू भयो । सबै स्थानीय खुसी छन् ।’ बोर्डर पास पाएसँगै चुमनुव्री गाउँपालिका १ को रुइला र वडा नम्बर ७ छेकम्पारको ङुइला दुवै नाकाबाट सीमा क्षेत्रका बासिन्दले प्रवेश पाउने छन् ।

ङ्युइला नाकाबाट यस क्षेत्रका स्थानीय तिब्बतको स्या र जोङ्गा बजार पुगेर उपभोग्य सामाग्री खरिद गर्छन् । ङ्युइला भञ्ज्याङबाट स्या करिब ५ किलोमिटर र जोङ्गा करिब १५ किलोमिटरको दूरीमा पर्ने स्थानीय बताउँछन् ।

त्यस्तै रुइला नाकाबाट प्रवेश गर्ने स्थानीय तिब्बतको कोङ्दाङ बजार पुगेर उपभोग्य सामाग्री खरिद गर्ने गर्छन् । नाका नखुल्दा यहाँका स्थानीयलाई लागतको तेब्बर ढुवानी मुल्य तिरेर गोरखाकै आरुघाट, आर्खेत लगायतका बजारबाट उपभोग्य सामाग्री गाउँ पुर्‍याउँथे ।

गोरखाको तल्लो बजारबाट खच्चड मार्फत् उपभोग्य सामाग्री पुर्‍याउन तीन देखि चार दिन लाग्ने गर्छ । खच्चडको चर्को ढुवानी भाडा तिर्दै आएका स्थानीय तिब्बतको बजारबाट आफ्नै चौरी र घोडामा बोकाएर उपभोग्य सामाग्री ल्याउँदा ढुवानीको मूल्य घट्ने भन्दै खुसी देखिएका छन् ।

रिपोर्टस नेपालबाट लिइएको

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार