काठमाडौं – नेपाल प्रहरीले नक्कली ‘अकाउन्ट’ सम्बन्धी एक भिडिओ सामग्री तयार पारेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न आशयले खोलिने नक्कली अकाउन्ट बढ्दै गएको अवस्थामा त्यसबाट सचेत बनाउन प्रहरीले भिडिओ सार्वजनिक गरेको हो ।
झन्डै २० मिनेटको उक्त भिडिओमा नक्कली ‘अकाउन्ट’का कारण सर्वसाधारण कसरी ‘साइबर’ अपराधको शिकार भएका थिए भन्ने देखाइएको छ । ‘साइबर’ अपराध अन्तर्गत सामाजिक सञ्जालमार्फत डर, त्रास देखाई आर्थिक लाभ लिने, यौन आशयका सन्देश पठाउने, गोप्य फोटो तथा भिडिओहरू सार्वजनिक गरिदिन्छु भनी मानसिक दबाब दिई आर्थिक लाभ वा यौनजन्य चाहना पूरा गर्ने कामहरू पर्छन् ।
त्यसैगरी अरूको ‘अकाउन्ट ह्याक’ गरी अश्लील फोटो तथा भिडिओ पोस्ट गरिदिने र ‘फेक अकाउन्ट’ बनाई सामाजिक सञ्जालमा गालीगलौज तथा अश्लील हर्कत गर्ने कार्य पनि साइबर अपराध नै मानिन्छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा अरूको फोटो तथा जानकारी प्रयोग गरी ‘फेक अकाउन्ट’ बनाई चरित्रहत्या गर्ने तथा ठगी गर्ने घटना वृद्धि हुन थालेको प्रहरीको भनाइ छ ।
‘साइबर ब्यूरो’मा उजुरी दिन पुगेकी पीडित बालिकाकी आमा निलम महर्जन भन्छिन्, “छोरीको नाम, फोटो राखेर ‘मेसेन्जर’मा उसको स्कुलको साथी र उभन्दा साना बालिकालाई अश्लील शब्द प्रयोग गरेर कसैले मेसेज गरेको रहेछ । त्यो कारणले गर्दा मेरो छोरीको स्थिति राम्रो भएन । ऊ मानसिक रूपमा विक्षिप्त भई । त्यसले गर्दा छोरीलाई ‘एन्जाइटी’सम्म भयो ।”
पछि उनले छोरीको अवस्था थाहा पाएर उनीसँग त्यस घटनाबारे बुझिन् र छोरीको नाममा नक्कली ‘अकाउन्ट’ बनाउने व्यक्ति विरुद्ध ‘साइबर’ ‘ब्यूरो’मा उजुरी दिन गइन् । उजुरीपछि ‘साइबर ब्यूरो’ले त्यस घटनामा अनुसन्धान अगाडि बढायो । र, आरोपित व्यक्ति पत्ता लाग्यो । व्यक्ति पत्ता लागेपछि छोरीको मानसिक अवस्था पनि सुध्रिँदै गएको उनको भनाइ छ ।
फेक अकाउन्ट भनेको के हो ?
‘फेक अकाउन्ट’ भन्नाले नक्कली वा झुटा विवरण राखेर कसैको पहिचानलाई गलत ढङ्गले प्रयोग गर्नु भन्ने बुझिन्छ । सामाजिक सञ्जालमा गलत सूचना एवम् विकृति फैलाउन तथा ठगी गर्नका लागि यस्ता ‘अकाउन्ट’को प्रयोग हुने गरेको छ । त्यस्तै सस्तोमा सामान राखेर ठगी गर्न, ‘फिशिङ लिङ्क’ पठाउन, नक्कली सामान बेच्न, चरित्रहत्या हुने किसिमले अश्लील भिडिओ पोस्ट तथा शेयर गर्नका लागि नक्कली ‘अकाउन्ट’को प्रयोग भइरहेको छ ।
“मैले एउटा फेसबुक पेज भेट्टाएँ,” ‘साइबर ब्यूरो’मा उजुरी दिन पुगेकी एक पीडित युवतीले भनिन्, “त्यसमा सामान सस्तोमा राखेको भएर मैले सामान ‘अर्डर’ गरें । ‘स्टोर’ उपत्यका बाहिर भएकाले उनीहरूले अग्रिम भुक्तानी गर्नुपर्छ, हामी ‘क्याश अन डेलिभरी’ गर्दैनौं भने । त्यसपछि मैले अग्रिम भुक्तानी गरिदिएँ । भोलिपल्ट सामान आउँछ भनेको सामान आएन । मैले मेसेज गर्दा मलाई उनीहरूले ब्लक गरिदिए ।”
‘साइबर ब्यूरो’को विगत तीन वर्षको तथ्याङ्कमा आर्थिक वर्ष २०७८/७९ मा चार हजार ६८६ ओटा, २०७९/८० मा नौ हजार १३ ओटा र २०८०/८१ पको पुससम्म ११ हजार ८६८ ओटा साइबर अपराधसम्बन्धी निवेदन परेका छन् । यो तथ्याङ्कलाई विश्लेषण गर्दा हरेक वर्ष साइबर अपराधका घटना तीव्र गतिमा बढ्दै गइरहेको देख्न सकिन्छ ।
यसरी हरेक वर्ष ‘साइबर’ अपराधका घटना बढ्नुमा सर्वसाधारणमा सामाजिक सञ्जाल प्रयोगबारे सही ज्ञान नहुनु रहेको प्रहरीको ठहर छ । त्यसबाहेक आफूले प्रयोग गर्ने सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड सुरक्षित नराख्नु पनि यसको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो अकाउन्ट बलियो राखी ह्याक हुन तथा ठगिनबाट बच्न सुझाव दिइएको छ ।
यस्ता घटनाबाट कसरी जोगिने ?
– कुनै पनि सामाजिक सञ्जाल वा एप्लिकेसनको पासवर्ड राख्दा गोप्य र अनुमान गर्न नसकिने अक्षर, अङ्क र स्पेसल क्यारेक्टर सम्मिलित टु स्टेप भिरिफिकेसन सहितको पासवर्ड राख्ने । (उदाहरणका लागि spw$%k@3W_u8*)
– कुनै पनि सामाजिक सञ्जाल तथा इन्टरनेट बैंकिङको पासवर्ड समय समयमा परिवर्तन गर्ने । पासवर्ड तथा ओटीपी (OTP) कसैसँग पनि शेयर नगर्ने ।
– अपरिचित व्यक्तिबाट प्रलोभन देखाई आउने ईमेललाई नखोल्ने वा प्रतिउत्तर नदिने ।
– सार्वजनिक स्थानमा प्राप्त हुने निःशुल्क वाईफाईको प्रयोग गरी मोबाइल बैंकिङ तथा संवेदनशिल कारोबार नगर्ने ।
– ईमेल र फेसबुक जस्ता सोसल नेटवर्किङ साइटहरू प्रयोग गरिसकेपछि अनिवार्य लगआउट गर्ने ।
– सार्वजनिक स्थानमा इन्टरनेट प्रयोग गर्दा कुनै पनि ‘साइट’मा ‘पासवर्ड’को अभिलेख रहने ‘अप्सन’ जस्तै ‘अलवेज रिमेम्बर माई पासवर्ड’ (Always remember my password), किप मि लग्ड इन (Keep me logged in) मा टिक नलगाउने ।
– ‘सोसल नेटवर्किङ साइट’मा आफूले चिनेको व्यक्तिलाई मात्र साथी बनाउने ।
– आफ्नो र आफ्ना साथीहरूका व्यक्तिगत विवरण अनलाइन ‘प्लेटफर्म’हरूमा ‘शेयर’ तथा ‘पोस्ट’ नगर्ने ।
– चिठ्ठा उपहार वा अन्य कुनै पनि बहानामा आउने आफू सुनिश्चित नभएका ‘लिङ्क’हरू नखोल्ने तथा आफूले भर्दै नभरेको चिठ्ठा पर्यो भनेर आउने झुटा ‘मेसेज’ एवम् फोनको विश्वास नगर्ने ।
– सामाजिक सञ्जालको प्रयोग गरिएको मोबाइल एवम् ‘ट्याबलेट’ जस्ता ‘डिभाइस’ हराउँदा उक्त ‘डिभाइस’मा ‘लगइन’ भएको सामाजिक सञ्जालको ‘पासवर्ड’ तुरुन्तै परिवर्तन गर्ने ।
– सामाजिक सञ्जाल तथा ‘वेबसाइट’मार्फत कुनै पनि किसिमका सरसामान खरिद गर्नुपरेमा ‘क्याश अन डेलिभरी’ गर्ने अर्थात सामान आफ्नो साथमा आएपछि मात्र भुक्तानी गर्ने ।
– सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुर्व्यवहार सम्बन्धित केही असहज गतिविधिको महसुस भएमा वा घटना भएको खण्डमा प्रमाण सङ्कलन गरि प्रहरीमा उजुरी गर्ने ।
त्यस्तै आफूलाई विभिन्न साइबर अपराधका घटनासम्बन्धी सचेत बनाउने, पासवर्ड सुरक्षित राख्ने, परिवारसँग कुराकानी गर्ने, कसैले अनावश्यक गतिविधि गरेको थाहा पाए ब्लक गर्ने, प्रमाणका लागि च्याटको स्क्रिनशट राख्ने काम गर्दा साइबर अपराधसँग सम्बन्धित घटनाबाट सुरक्षित हुन सकिन्छ ।
यदि कसैले साइबर अपराध गरेमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अपराधको प्रकृति हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने प्रावधान रहेको छ ।
नेपालमा ‘साइबर’ अपराधको दर बढ्दै गएकाले त्यसको नियन्त्रण गर्न नेपाल प्रहरीले विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय एवम् समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत जनचेतना फैलाउँदै आएको छ । त्यसमा पनि विशेषगरी समुदाय, विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाल तथा इन्स्यान्ट मेसेजिङ एपमा विदेशी नागरिकको नक्कली अकाउन्ट बनाएर साथी बनाउने गरेका छन् । यसरी साथी बनाई कुराकानी गर्ने क्रममा विभिन्न किसिमका बहना बनाई प्रलोभनमा पार्ने तथा कतिपयले मायाको नाटक गरी बैंक खाता खोल्न लगाई एटीएम तथा चेक कुरियर गरी पठाउन लगाउने गरेका छन् ।
यसरी प्राप्त एटीएम तथा चेकबुकलाई अन्य व्यक्तिलाई ठगी गरी प्राप्त भएको रकम निकाल्न प्रयोग भएको देखिन्छ । यसरी कसैलाई पनि आफ्नो व्यक्तिगत विवरण, बैंक विवरण र अन्य किसिमका संवेदनशील जानकारी उपलब्ध नगराउन प्रहरीले सुझाव दिएको छ ।
कुनै पनि साइबर अपराधको घटना भएमा वा हुन लागेको थाहा भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा निवेदन दिन प्रहरीले अनुरोध गरेको छ । “नक्कली अकाउन्ट बनाउनु र त्यसबाट कसैको चरित्रहत्या गर्नु पनि साइबर अपराध हो,” ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले भने, “पछिल्लो समय ठगीका घटना पनि नक्कली आईडीबाट भएका छन् । वैदेशिक रोजगारीमा नेपालीलाई ठगी गर्न पनि यस्ता नक्कली अकाउन्टको प्रयोग भइरहेको छ ।”
यसबाट सर्वसाधारण बच्न जरुरी रहेको अर्यालको भनाइ छ । आफू साइबर अपराधको शिकार भए नभएको थाहा पाउनका लागि ९८५१२८६७७० वा ९८५१२८६७७१ मा सम्पर्क गरेर समस्या राख्न सकिन्छ । त्यस्तै cyberbureau@nepalpolice.gov.np मा ईमेल गरेर पनि उजुरी दिन सकिन्छ ।