पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव चिन्ताजनक : राष्ट्रपति रामचन्द्र पौडेल

 काठमाडौं। आज मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने कुरा उल्लेख गर्नु भएको छ ।

विशेषगरी उहाँले इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमा पारी र विश्वस्तरमा पर्न जाने कुरा अगाडि सार्नु भएको छ ।

राष्ट्रपति पौडेलका अनुसार ‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा छ । पहाडी संवेदनशील भूबनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ’ भन्ने कुरा बताउनुभयो ।

यस्तै राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै केही समयअघि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण, जीविकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको कुरा समेत उल्लेख गर्नुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार