‘पर्यटक’ चरा चितवनमा आउन थाले

चितवन । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजातिसहित बाज, चिललगायत चरा यहाँ आउन थालेका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिए ।

उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँका नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । नेपालकै पहाडी भेगबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।

चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट नेपालमा चरा आउने गरेका छन् । हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा नेपाल आउने गरेका छन् । वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाज हुने गरेका उनले बताए ।

उनले भने, “चिसो छल्न, आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।” नेपालमा १५० प्रजातिका चरा आगन्तुक रूपमा आउने गरेका उनले उल्लेख गरे । अहिलेसम्म १०० प्रजातिका चरा आइसकेका उनले बताए । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उनले जानकारी दिए ।

पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्न समय समेत नहुने भएकाले ती चरा आउने गरेका उनले बताए ।नेपालमा विशेष गरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल ८९२ प्रजातिका चरा पाइन्छ । चितवनमा ६५० प्रजातिका चरा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो वासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् । रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार