नेपाललाई ९४ रनको लक्ष्य

काठमाडौँ, हङकङले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलामा नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मुलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भयो ।

करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी २० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पुरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गर्ने तेस्रो खेलाडी हुन् ।

अर्का तीब्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे । कुशल मल्ल र श्याम (मौसम) ढकालले १/१ विकेट लिए ।

करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरी विकेट लिन सुरु गरेका थिए । त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए । उनले २० बल खेली २ चौका प्रहार गरे ।

नेपालको प्रतियोगितामा यो दोस्रो खेल हो । अघिल्लो दिन नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो । हङकङको प्रतियोगितामा यो पहिलो खेल हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार