लामिछानेले आगामी प्रतियोगिता नखेल्ने

काठमाण्डौं, क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी गराएका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्को भेट नभएसम्म सबैलाई धन्यवाद।’

घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ । सन्दीपमाथि दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालतमा विचाराधीन छ । पटक-पटक विभिन्न बाहानामा फैसला पेशी सर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार