गृहमन्त्री बीआरआई फोरम र भेटघाटमा व्यस्त

बेइजिङ, चीनले आयोजना गरेको तेस्रो ‘बेल्ट एन्ड रोड’ फोरम फर इन्टरनेसनल कोअपरेसन(बीआरएफ) मा सहभागी हुन आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार बीआरआईअन्तर्गतका कार्यक्रममा भाग लिनुका साथै केही भेटवार्ता गरेका छन्।

बेइजिङको ओलम्पिक पार्कस्थित राष्ट्रिय सम्मेलन केन्द्रमा चिनियाँ राष्ट्रपति सी चिनफिङले औपचारिक उद्घाटन गरेपछि आयोजित विभिन्न कार्यक्रमअन्तर्गत बिहान र अपरान्ह गरी दुईटा कार्यक्रममा सहभागिता जनाउँदै हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चमा मुख्य मन्तव्य दिने कार्यक्रम रहेको नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छवीन्द्र पराजुलीले जानकारी दिए। कार्यक्रममा सहभागी हुन कतिपय नेपाली उद्यम व्यवसायका प्रतिनिधिहरू पनि बेइजिङमा छन्। फोरमको निर्धारित कार्यक्रम १७ र १८ तारिख भएपनि सम्मेलनअन्तर्गतका विभिन्न गतिविधिहरू अघि र पछिसम्म जारी रहनेछन्।

यसअघि उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ राष्ट्रपतिले आयोजना गरेको स्वागतभोजमा सहभागिता जनाउँदै केही भेटवार्ताहरू गरे। मन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सदस्य, स्टेट काउन्सिलर एवं सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री वाङ सियाओहोङसँग भेटवार्ता गरे। भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्ध र दुई मन्त्रालयबीचको बढ्दो सहयोग सहकार्यप्रति खुशी व्यक्त गरेका थिए।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले ‘एक चीन सिद्धान्त’प्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै आन्तरिक र बाह्य राजनीतिक परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि नेपालको आधारभूत अडान स्पष्ट र अटल रहेको विश्वास दिलाए।

भेटमा दुई पक्षबीच सीमा व्यवस्थापन र सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा सहयोगबारे छलफल भएको र नेपालले शान्ति सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सीमापार सुरक्षा सहयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ मन्त्री वाङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा सहयोग सहितको लजिस्टिक सहयोग विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

भेटमा नेपाल–चीनबीचका १४ वटा सीमा नाका सुरू गर्ने विषयमा दुवै नेताले समर्थन जनाएका छन् भने नाका खुलेपछि द्विपक्षीय व्यापार मात्रै नभई दुई देशबीचको जनस्तरीय सम्बन्ध पनि मजबुत हुने विश्वास व्यक्त गरे।

गत सोमबार चीन आएका उपप्रधानमन्त्री श्रेष्ठले १९ तारिख चिनियाँ विपत्ति निवारण मन्त्रालयका मन्त्रीसँग भेटवार्ता गर्ने र २० तारिख नेपाल फर्किने कार्यक्रम रहेको नेपाली राजदूतावासले जनाएको छ।

लक्ष्मी लम्साल, कान्तिपुर

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार