होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त कोरोना महामारीयता होटल र पर्यटन व्यवसायमा परेको प्रतिकूल प्रभावबाट चिन्तित छन् । होटल व्यवसायी महासंघ नेपालका सचिवसमेत रहेका उनी पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि व्यवसायी र तहगत सरकारको संयुक्त प्रयासको खाँचो देख्छन् । यो व्यवसायको पछिल्लो अवस्था र सम्भावनाबारे पन्तसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :
होटल तथा पर्यटन व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
अहिले होटल तथा पर्यटन क्षेत्र थला परेर कोमामा पुगेको छ । कोभिडको पहिलो, दोस्रो र तेस्रो लहर पार गरेपछि यो क्षेत्रमा ठूलो आशा पलाएको थियो । आशा यस अर्थमा कि, कोरोनाकालको लामो लकडाउन अवधिमा विश्व नै एक किसिमले थुनिएर बसेको थियो । र, कोभिडको समाप्तिसँगै मानिसहरू बाह्य होस् वा आन्तरिक दुवै किसिमले घुम्न निस्किन्छन् र होटल तथा पर्यटन क्षेत्रको तुरुन्तै पुनरुत्थान हुन्छ भन्ने व्यवसायीहरूको आकलन थियो । त्यसको ठीक उल्टो भयो ।
केही समय पुरानै लयमा फर्किंदै गरेको यो क्षेत्र त्यसपछि आएको आर्थिक मन्दीले नराम्रोसँग थलियो ।
मधेश क्षेत्रको पर्यटकीय अवस्था चाहिँ कस्तो पाउनुहुन्छ ?
छिमेकी देश भारतको करीब साढे १४ करोड जनसंख्या भएको विहार राज्यसँग जोडिएको मधेश प्रदेशमा पर्यटन व्यवसाय उन्नत हुनुपर्ने हो । यो वास्तवमा मधेशको सपना पनि थियो । यसरी सोच्दा मधेशमा पर्यटनको अपार सम्भावना थियो र छ पनि । अन्त टाढा कतै जान नसके पनि मधेशको सबैभन्दा नजिक, एक प्रकारले आफ्नै आँगनमा रहेको विहारको त्यो जनसंख्याको केही हिस्सामा मात्र पुग्न सके पनि मधेशको पर्यटनका लागि अथाह बजार हुन्थ्यो । तर, त्यस्ता पहल कहीँकतै कुनै स्तरबाट हुन सकेको छैन । यहाँको होटल तथा पर्यटन क्षेत्र भगवान् भरोसा चलिरहेको छ ।
पर्यटकहरू सीमाबाट भित्रिने, तर यहाँ नअडिने किन भएको हो ?
मधेशले न आफ्नै बुताले मधेश घुम्न पर्यटन बोलाउन सक्यो, न काठमाडौं, सौराहा र पोखराजस्ता नाम चलेका पर्यटकीय स्थानमा जान सीमानाका हुँदै भित्रिएका पर्यटकलाई यहाँ एक दिन पनि अड्याउन सक्यो । हामीले यसका लागि आवश्यक पर्यटकीय पूर्वाधार बनाउन सकेनौं । थोरै लगानी, छोटो समय र थोरै प्रयासबाटै धेरै प्रतिफल दिन सक्ने परियोजना धेरै हुँदा पनि त्यसलाई पहिचान गरी छुट्टै पर्यटन नीति बनाएर अगाडि बढ्न सकेनौँ । फलस्वरूप यहाँ त्यस्ता पर्यटकीय स्थल बन्न सकेनन् । भएका केही थोरै पर्यटकीय स्थलको प्रवर्द्धन हुन सकेन । सम्भावना भएका केही पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुन सकेन । यी सब कारणले मधेशमा पर्यटकलाई एक दिन पनि रोक्न सक्ने वातावरण बन्न सकेन ।
स्तरीय होटलको अभाव पनि पर्यटक यहाँ बस्न नरुचाउनुको कारण हो ?
होइन, मधेशमा पर्यटकको खर्च गर्ने आर्थिक सामथ्र्य अनुसारका पाँचतारे होटलदेखि सामान्य स्तरका होटल धेरै छन् । बरु, पर्यटकीय प्याकेजमा हामी पछाडि परेका हौं । पर्यटकलाई एक–दुई दिन यहाँ रोकेर राख्ने प्याकेज हामीसँग नभएको हो । यस्ता सम्भाव्य ठाउँ नभएका पनि होइनन् । तर, त्यसको उचित संयोजन र प्रचारप्रसारको अभाव छ ।
यस्ता समस्याको समाधान कसरी हुन्छ त ?
मधेशको पर्यटन प्रवर्द्धनमा तहगत सरकारको आआफ्नै किसिमको भूमिका छ । जुन तीनै तहका सरकारले इमानदारीका साथ लागेमा असम्भव छैन । साँच्चै पर्यटन प्रवर्द्धनमा लाग्ने हो भने सर्वप्रथम संघीय पर्यटन मन्त्रालय र प्रदेशको पर्यटन मन्त्रालयको संयुक्त टोली बनाई सम्भावित पर्यटकीय स्थलको पहिचान गर्नुपर्दछ । पहिचान गरिएका पर्यटकीय स्थलको विकासका लागि कम्तीमा पनि पञ्चवर्षीय योजना बनाउनुपर्छ । सम्बन्धित स्थानीय तहलाई समेत त्यसमा जोडेर तीनै तहका सरकारले आआफ्नो क्षमताअनुसारको बजेट विनियोजन गर्नुपर्दछ । संयुक्त रूपमा अगाडि बढे ५ वर्षमै धेरै काम गर्न सकिन्छ । यसरी विकास गरिएका पर्यटकीय स्थलको प्रवर्द्धन र प्रचारप्रसार भारतको विहारमै मात्र राम्ररी गर्न सके पनि हाम्रै पालामा मधेशको पर्यटनमा कायापलट सम्भव छ ।
होटल तथा पर्यटन व्यवसायी संघले पर्यटन प्रवर्द्धनका लागि के कस्ता योजना बनाएको छ ?
होटल तथा पर्यटन व्यवसायी संघको एकल प्रयासले मात्र मधेशको पर्यटन विकास र प्रवर्द्धन सम्भव छैन । खासमा हामीले त हाम्रो पर्यटन क्षेत्रको अनुभव र यसको विकासमा देखेको सम्भावना र बाटोका बारेमा तहगत सरकारलाई औंल्याइदिने हो । हाम्रो भोगाइ र अनुभव समेटेर यसो गर्दा ठीक हुन्छ भनेर सुझाव दिने हो, आग्रह गर्ने हो । नीति र त्यसअनुसारका योजना बनाएर कार्यान्वयनमा लैजाने काम सरकारको हो । सरकारको काममा सहकार्यका लागि हामी सधैं तयार छौँ ।
हरि पन्तसँगको अन्तर्वार्ता
आर्थिक अभियानको अर्काइभबाट