काठमाडौँ, जनस्वास्थ्य अनुसन्धानकर्ता डा. निर्मल अर्याल बेलायतको बर्नमथ विश्वविद्यालय र नेसनल हेल्थ सर्भिस (एनएचएस) मा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। उनले जनस्वास्थ्य अनुसन्धान (इपिडिमियोलोजी) विषयमा बेलायतको एबरडिन विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
नसर्ने रोगहरू र जीवनशैलीका कारण यसमा पर्ने असरमा विज्ञता हासिल गरेका अर्यालको समूहले पछिल्ला आठ वर्षदेखि आप्रवासीहरूको स्वास्थ्यबारे बेलायत, नेपाल, भारत र मलेसियामा अनुसन्धान गरिरहेको छ। खाडी मुलुकहरू र मलेसियामा कार्यरत नेपाली र दक्षिण एसियाली कामदारहरूको स्वास्थ्यमा उनको विशेष रुचि छ। स्कोपस साइभलको तथ्यांकमा उनी र उनको समूहका वैज्ञानिकहरू आप्रवासी स्वास्थ्य अनुसन्धानमा विश्वकै उच्च ५ प्रतिशतभित्र पर्दछन्। आप्रवासी कामदारहरूको स्वास्थ्य जोखिम र यसका आयामहरूबारे कान्तिपुरका लागि जनकराज सापकोटा र स्वरूप आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
आप्रवासी कामदारको स्वास्थ्य समस्याबारे नेपाल सरकार र सरोकारवालाहरूले नै ध्यान नदिएको अवस्थामा यस विषयको अनुसन्धानमा कसरी अभिप्रेरित हुनुभयो ?
आप्रवासी कामदारहरूलाई मिर्गौला समस्या हुने गरेको समाचार पढेपछि नै यस विषयमा अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लागेको हो। यो हामीले आफ्नै वरिपरि पनि देखिरहेकै समस्या हो। तर, हाम्रो ध्यान त्यता गएको थिएन। अर्को कुरा, हामीकहाँ कुनै पनि विषयको प्रमाणित तथ्यांक वा सूचना भेट्न निकै कठिन हुन्छ; यो विषयमा त झन् कसैले केही गरेकै छैन। त्यसैले पत्रपत्रिकामा आएका कुराहरू पनि वैज्ञानिक रूपमा प्रमाणितभन्दा पनि अनुमानित नै हुन्। यस्तो कुराले नीति निर्माण तहमा खासै प्रभाव पार्दैन। विश्वका विकसित देशहरूमा नीति निर्माण गर्नका लागि वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको तथ्य आवश्यक पर्छ। उदाहरणका लागि, मैले न्युजिल्यान्डमा अध्ययन गरेको विश्वविद्यालयले नै त्यहाँको धूमपान सम्बन्धी नीति बनाएको हो। न्युजिल्यान्डलाई आगामी केही वर्षमा धूमपानरहित बनाउने उनीहरूको लक्ष्य छ। कुनै पनि देशको थिंक ट्यांक भनेको त्यहाँको विश्वविद्यालय हो। तर हाम्रोमा त्यस्तो छैन। त्यसैले पनि हामीले आप्रवासीहरूको स्वास्थ्यलाई लिएर राजनीतिक तहमा कुनै निर्णय लिँदा त्यसलाई बाहिरी दुनियाँले मान्ने अवस्था छैन। हामीले हालै मात्र मलेसियामै नेपालीहरूको अचानक मृत्यु किन हुन्छ भनेर अध्ययन गरेका थियौं। तर त्यहाँ अनुसन्धान गर्दा नेपालमै पनि यसरी अचानक मृत्यु हुनेको संख्या ठूलो छ भनेका थिए; नेपालमा रहेकाहरूमा पनि मुटुरोगको जोखिम धेरै छ भन्ने सुनेका छौं भन्ने उनीहरूको तर्क हुन्थ्यो। हामीसँग त्यस्तो हो या होइन भन्नका लागि ‘उमेर र लिंग’ विशेषको कुनै तथ्यांक नै छैन।
अहिले नेपालमा मात्रै होइन, दक्षिण एसियामै युवावस्थामै हृदयाघात भएर मृत्यु हुनेको संख्या बढेको जस्तो देखिन्छ। यस्तो अवस्थामा कसरी आप्रवासी कामदारमा यो समस्या बढ्दो छ भनेर स्थापित गर्न सकिन्छ ? किनभने हाम्रो देशमै यस विषयमा कुनै प्रमाणित तथ्यांक छैन।
मुटु सम्बन्धी समस्याका लागि विभिन्न जोखिमयुक्त अवस्थाहरू हुन्छन्। तर त्यो जोखिम हुँदैमा मुटु सम्बन्धी समस्या भएर मान्छे मरिहाल्ने भन्ने हुँदैन। त्यो अवस्था आउन लामो समय लाग्छ। तर अहिले कुनै जोखिम नभएका व्यक्तिको पनि हृदयाघात भएर मृत्यु भइरहेको छ। मैले सन् २०१५ देखि नै यस सम्बन्धी अध्ययन–अनुसन्धान गरिरहेको छु। अचानक हृदयाघात भएर मृत्यु हुने भनेको केही समयअघिसम्म केही पनि भएको थिएन तर १५–२० मिनेटमै असहज अनभुव गरेको बताउन नपाउँदै व्यक्तिविशेषको मृत्यु हुन्छ। यसको कारण छुट्टै हुन्छ, मुटु सम्बन्धी जोखिम भएको समूहभन्दा बाहिरको। कामदारहरूको अचानक मृत्यु हुनुमा कामको प्रकृति र बस्ने स्थानको अवस्था प्रमुख हुन्छ। गर्मीमा धेरै काम गर्नुपर्छ, पिउने पानी हुँदैन, सानो ठाउँमा कोचिएर बस्नुपर्छ। कामदारहरूकै जीवनशैली पनि यसमा कारक हुन्छ। मलेसियामा अचानक मृत्यु भएका ५० नेपालीमाथि अध्ययन गर्दा ७७.५ प्रतिशत कामदारले दैनिक अत्यधिक मद्यपान गर्ने गरेको पाइयो। मदिराको गुणस्तर पनि अत्यन्तै खराब थियो। त्यसमा विषाक्त मिथानोलको मात्रा धेरै थियो। हाम्रो अध्ययनमा नेपालीले खाने रक्सी कि त नक्कली कि अवैध रूपमा बजारमा बिक्री हुने र कडा खालको हुने रहेछ।
तपाईंले कामदारहरूको मिर्गौला र मुटु सम्बन्धी समस्याबारे अध्ययन गर्नुभएको छ। त्यसमा के कारणले गर्दा त्यस्तो समस्या भएको पाउनुभएको छ ? कुन समस्यालाई प्रमुख ठान्नुहुन्छ ?
हामीले सबै विषयलाई सँगसँगै लिएर जानु जरुरी छ। कुनै पनि कुरामा रातारात परिवर्तन हुने अपेक्षा गर्न पनि सकिँदैन। पहिलो त, विदेश जानुअघि हुने स्वास्थ्य परीक्षणलाई नै व्यवस्थित र भरपर्दो बनाउनुपर्यो। अहिले जुन हिसाबमा भइरहेको छ, त्यसमा त कसैलाई पनि विश्वास छैन। अर्को कुरा, हामीले स्वास्थ्य जाँच गर्दा केही समस्या फेला पार्यौं भने उसलाई काम गर्न जानबाट रोक्नु हुँदैन। बरु उच्च रक्तचाप वा सुगर वा मिर्गौला सम्बन्धी के समस्या छ, त्यो बताएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर सिकाउनुपर्छ।
अहिले त स्वास्थ्य परीक्षण नै नक्कली हुन्छ । त्यसमै सुधार गर्नुपर्यो। कामदारहरू फर्किएर आएपछि पनि स्वास्थ्य परीक्षण गर्नु जरुरी छ। उनीहरूको अवस्था जाँदा कस्तो थियो र आउँदा कस्तो भयो भन्ने त थाहा हुनुपर्यो नि ! त्यो तथ्यांक भयो भने पो हामीलाई कुन देशमा कस्तो समस्या हुँदो रहेछ भनेर थाहा पाउन सहज हुन्छ। र, ती दुवै स्वास्थ्य परीक्षणको तथ्यांक इलेक्ट्रोनिक हुनुपर्यो। यहाँ बस्दाभन्दा वैदेशिक रोजगारीबाट फर्किंदा रक्तचापको समस्या दोब्बर भएको हाम्रो अध्ययनले देखाएको छ। तर त्यही व्यक्तिमा रक्तचापको समस्या पहिला थियो कि थिएन भनेर हामीले हेर्ने आधार नै भएन। हामीले अध्ययन सकेसम्म ‘पूर्वाग्रह’ नहोस् भनेर गर्ने हो। तर गोल्ड स्ट्यान्डर्डमा हामीले गर्न सकेका छैनौं।
हालै तपाईंसहितको समूहले धनुषाका दुई स्थानीय तहमा गरेको अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरूमा मिर्गौला रोगको जोखिम रहेको देखायो। यो अध्ययनमा अरू के कुरा मुख्य देखिए ?
हामीले धनुषाका दुई स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ७१८ जना र स्थानीय ७२० जनाबीच तुलनात्मक अध्ययन गरेका थियौं। अनुसन्धानमा वैदेशिक रोजगारीमा कम्तीमा दुई वर्ष बसेका र फर्केको १२ महिनाभन्दा कम अवधिभित्रका कामदारहरू समेटिएका थिए। यो अध्ययनले वैदेशिक रोजगारीबाट फर्केकाहरूका मिर्गौलामा रगत फिल्टर गर्ने (ग्लोमेरुलर फिल्ट्रेसन) क्षमतामा कमी आएको देखियो। अनुसन्धानमा ग्लोमेरुलर फिल्ट्रेसन क्षमता वैदेशिक रोजगारीबाट फर्केकाहरूमा ५.८ प्रतिशत र स्थानीयमा ३.६ प्रतिशत देखियो। स्थानीयमा भन्दा वैदेशिक रोजगारीबाट फर्केकाहरूको पिसाबमा प्रोटिनको मात्रा धेरै देखियो।
त्यस्तो किन भयो भनेर पनि थाहा भयो?
एउटै अध्ययनले सबै कुरा निर्क्योल गर्न सक्दैन। हामी अब त्यो किन भयो भनेर अध्ययन गर्ने तयारी गर्दै छौं। रक्तचापलाई नै मुख्य मानेर त्यसको कारण पत्ता लगाउन हामीले काम गर्नुपर्छ। प्रारम्भिक रूपमा भन्नुपर्दा, कामदारको जीवनशैली र कार्यस्थलमा नै समस्या छ। हाम्रो अध्ययनले उनीहरू समस्यामा छन् भन्ने देखियो।
वैदेशिक रोजगारीमा रहेका र पहिला रोजगारीमा गएर फर्केकाको जोखिमको अवस्था लगभग एकै रहेको पनि देखिएको छ, जुन आफैंमा डरलाग्दो अवस्था हो। धेरैमा शारीरिकका साथै मानसिक समस्या पनि देखिन थालेको छ। एचआईभीको समस्या झन् ठूलो छ। त्यसबारे त अनुसन्धान गर्नै पनि कठिन छ, किनभने हामीले खाडीका केही विश्वविद्यालय र अस्पतालसँग कुरा गर्दा उनीहरू औपचारिक रूपमा केही बोल्दैनन्। सन् २०१४ को कतारको तथ्यांक अनुसार, अचानक मृत्यु हुने अनुपात अन्य देशका नागरिकको तुलनामा नेपालीको धेरै छ। कतार विश्वकपका बेला कामदारहरूको समस्याबारे धेरै कुरा उठाइयो, त्यसमा अन्य देशको राजनीतिक स्वार्थ पनि गाँसिएको हुन सक्छ, तर खाडीकै अन्य देशमा रहेकाहरूबारे कुरै उठेन। त्यसैले यो निकै पेचिलो विषय बनेको छ।
अन्य देशको राजनीतिक स्वार्थ भनेर के इंगित गर्न खोज्नुभएको हो ?
आप्रवासी कामदारको स्वास्थ्यको विषयमा राजनीति पनि मिसिएको छ। विश्वकपकै बेला कतारबाहेकका अन्य देशमा भएकाहरूको स्वास्थ्यको विषय पूरै ओझेलमा पर्यो। अन्तर्राष्ट्रिय अखबारहरूले पनि एकपछि अर्को गर्दै कतारकै विषय मात्रै उठाइरहे, जबकि आप्रवासी कामदारको समस्या त अन्य देशमा पनि उस्तै र जटिल नै छ।
तपाईंले अध्ययन–अनुसन्धानमा आप्रवासी कामदारहरूको मानसिक स्वास्थ्यको विषय पनि समेट्नुभएको छ ?
आप्रवासी कामदारहरूको मानसिक स्वास्थ्यको विषयमा केन्द्रित भएर हामीले अनुसन्धान गरेका छैनौं। तर सन् २०१९ मा नवलपरासीमा आप्रवासी कामदारका श्रीमतीहरूको मानसिक स्वास्थ्यबारे अनुसन्धान गरेका थियौं। त्यसमा आप्रवासी कामदारहरूका श्रीमतीहरूको मानसिक स्वास्थ्यको अवस्था आम बुझाइभन्दा राम्रो रहेको देखियो। यसका पछाडि केही कारण पनि थिए। किनकि उक्त क्षेत्रका युवाहरूमा आंशिक सीप भएको र उनीहरू अलिक धेर तलब हुने चालक, इलेक्ट्रिसियनजस्ता काम गर्न प्रवास गएको देखियो। तुलनात्मक रूपमा राम्रो कमाइ र कार्यस्थलको सुरक्षाका कारण उनीहरू श्रीमतीसँग निरन्तर टेलिफोन कुराकानी गर्ने रहेछन्। अनि तिनका श्रीमतीहरू पनि स्थानीय तहमा कुनै न कुनै अर्थोपार्जनमा संलग्न भएका थिए। यसका साथै श्रीमान्को अनुपस्थितिमा उनीहरूले विभिन्न सामुदायिक कामको नेतृत्व पनि सम्हालिरहेका थिए। यस्ता तथ्यहरूका कारण पनि उनीहरूको मानसिक स्वास्थ्य राम्रो भएको हुन सक्छ भन्ने देखियो।
आप्रवासी कामदारको मानसिक स्वास्थ्य सूक्ष्म रूपले नियाल्न वा तिनको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि हामीले केके गर्न सक्छौं ?
हामीले गर्नुपर्ने पहिलो काम भनेकै विदेश जानुपुर्व नै कामदारहरूको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाउनु हो। यसरी संकलन गरिएका स्वास्थ्य सम्बन्धी तथ्यांकहरू विश्लेषण गर्ने अभ्यासले पनि केही नयाँ जानकारी पाउन सकिन्छ। अघि नै भनें, वैदेशिक रोजगारीबाट फर्केकाहरूको पनि स्वास्थ्य सम्बन्धी तथ्यांक संकलन गर्नुपर्छ। यसो भयो भने काम गर्न जानुअघिको स्वास्थ्य सूचकांकमा फर्केपछि केके बदलाव आयो भनेर तुलनात्मक अनुसन्धान गर्न सकिन्छ। समुदायमा गई उनीहरूका स्वास्थ्य सूचकहरू ल्याउनुपर्दैन, हामीसँग भएकै तथ्यांकबाट विभिन्न निष्कर्षमा पुगेर नयाँ अनुसन्धानको बाटो खोल्न सकिन्छ।
एकीकृत तथ्यांकको अभावमा हामीले आप्रवासी कामदारहरूको स्वास्थ्यका विषयमा धेरै काम गर्न सकिरहेका छैनौं। विदेश जानुअघि स्वास्थ्य परीक्षणकै क्रममा उनीहरूलाई दैनिक आनीबानी र जीवनशैलीले स्वास्थ्यमा पार्ने जोखिमहरूबारे पनि बुझाउनुपर्छ। वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणमा पनि कडाइ गर्नुपर्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको विदेशस्थित नेपाली दूतावासहरूको भूमिका पनि हो। हामीले मलेसियामा अनुसन्धान गर्दा थाहा पायौं, फिलिपिन्स दूतावासले त्यहां कार्यरत फिलिपिनो महिलाहरूसँग हरेक साता मनोपरामर्श गर्दो रहेछ। हामीले यस्ता राम्रा अभ्यासहरूबाट पाठ सिक्न सक्छौं। फिलिपिनो आप्रवासी कामदारहरू गल्फभरि छरिएका छन् तर उनीहरूमा स्वास्थ्य समस्या किन धेरै हुँदैन ? किनकि फिलिपिन्स दूतावाससँग कामदारहरूको स्वास्थ्य सुधार्ने सहायता प्रणाली छ। हाम्रो दूतावासले पनि त कामदारहरूको स्वास्थ्य सुधार्न यस्तै भूमिका खेल्न सक्छ नि ! कतैकतै नेपाली दूतावासहरूले यस्तो प्रयास गरेका छन् तर त्यो व्यवस्थित र प्रणालीगत रूपमा छैन। कामदारको मृत्यु भइसकेपछि मात्रै दूतावासले भूमिका खेल्ने होइन कि जीवित छँदै उनीहरूको स्वास्थ्य सुधार्ने काम गर्नुपर्छ। दूतावासले तालिका नै बनाएर कहिले कामदारको मिर्गौला, कहिले रक्तचाप, कहिले सुगर, कहिले मनोस्वास्थ्य परीक्षणजस्ता कामहरू गर्न सक्छ।
खाडी र मलेसियामा कार्यरत नेपालीको मुख्य स्वास्थ्य समस्या के हो ?
अहिले खाडी र मलेसियामा रहेका नेपालीहरूको अचानक मृत्युको जुन भयावह अवस्था छ, यस्तै स्थिति सन् १९८० को मध्यतिर सिंगापुरमा कार्यरत थाई कामदारहरूको पनि थियो। त्यतिखेर थाइल्यान्डको विदेश मन्त्रालयले मेरो घरको कुकुरभन्दा सिंगापुरमा कार्यरत थाईहरूको अवस्था दयनीय छ भनेर टिप्पणी गर्दै सिंगापुरले कार्यस्थल र अधिकारमा सुधार नगर्ने हो भने कामदार नपठाउने भनेपछि सिंगापुरले कामदारहरूको अवस्था सुधार्न धेरै प्रयास सुरु गर्यो। सन् १९९० पछि आप्रवासी कामदारहरूको अवस्थामा व्यापक सुधार आयो।
के यसरी हुने मृत्युको कारण पत्ता लगाउन अटोप्सी गरिन्छ ? गरिँदैन भने त मृत्युको कारण अज्ञात भयो नि ?
हाम्रो अहिलेको अध्ययन प्राविधिक भाषामा भन्दा भर्बल अटोप्सी अर्थात् मौखिक अटोप्सी हो। मलेसियामा पोस्टमार्टम त हुन्छ तर अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिँदैन। जस्तो कि, अत्यधिक तातोका कारण कसैको मृत्यु भयो भने पोस्टमार्टम गर्दा पछ्याउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ तर त्यहाँ त नाम, ठेगाना, कम्पनी, उमेर, मृत्यु हुँदाको समय र जे भएर मृत्यु भए पनि कार्डियोभास्कुलर डिजिज भनेर कारण लेख्ने चलन छ। यो विषयमा बिमाको कुरा पनि जोडिन्छ। अचानक मृत्यु भयो भने कतिपय केसमा बिमाले कभर नगर्दो रहेछ। त्यसैले उनीहरू कार्डियो भास्कुलर डिजिज भनेर लेखिदिन्छन्। गल्फको अवस्था पनि यो भन्दा फरक छैन।
भनेपछि त मलेसियामा भएका नेपालीहरूको मृत्युमा अन्तर्राष्ट्रिय मापदण्डहरू पछ्याएर अटोप्सी गर्न जरुरी देखिन्छ ?
अचानक मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम मात्रै पनि पर्याप्त नहुने रहेछ। यो विषयमा मैले अन्तर्राष्ट्रिय विज्ञहरूसँग पनि धेरै परामर्श र छलफल गरें। कार्डियोलोजीमा एउटा विधा छ—इन्टरभेन्सनल कार्डियोलोजी। यसले मुटुका चालहरूको व्याख्या गर्छ। एक जना वरिष्ठ कार्डियोलोजिस्टले मसँग अचानक हुने मृत्युको कारण पोस्टमार्टमबाट मात्रै पत्ता नलाग्ने बताएका थिए। यद्यपि अहिले थप अनुसन्धान नहुनुभन्दा पोस्टमार्टम नै पनि एउटा विकल्प भने हो।
हामीले मलेसियाका नेपालीमा भएको अचानक मृत्युको विषयमा थप बुझ्न नेपालका डाक्टर हरिहर अवस्थीदेखि मलेसियामा कार्यरत केही फरेन्सिक विज्ञहरूसँग सल्लाह लिएका थियौं। हामीले बनाएको प्रश्नावलीमा थप सुझाव पाएका थियौं। हामीले ५० नेपालीको मृत्युको अध्ययनपछि मदिरा पनि एउटा मुख्य कारक रहेको पत्ता लगायौं। अब उनीहरूले कुन ब्रान्डको मदिरा खाने गरेका छन, कति मात्रामा खाइरहेका छन्, उनीहरूको डाइट कस्तो छ भन्नेजस्ता विषयमा थप अनुसन्धान गर्नुपर्ने देखियो। कामदारहरूमा प्रोटिनको अवस्था के छ भनेर पनि हेर्नुपर्ने देखियो। ५० नेपालीको मृत्युमध्ये एकतिहाइ कारकचाहिँ अत्यधिक तनाव पनि देखियो।
आप्रवासी कामदारहरूको स्वास्थ्य किन गम्भीर विषय हो र यसमा राज्यको गहिरो ध्यान किन जरुरी छ ?
अहिले आप्रवासी कामदारहरूमा सबैभन्दा धेरै देखिएको स्वास्थ्य समस्यामा प्रमुख मिर्गौला सम्बन्धी छ। मैले त भन्ने गरेको छु— किड्नी डिजिजेज अ डेथ ट्र्याप। आप्रवासी कामदारको हकमा मात्रै होइन, तपाईं–हाम्रो परिवारकै एक सदस्यमा मात्रै मिर्गौला सम्बन्धी रोग देखियो भने सिंगो परिवारमा असर पर्छ। केही दिनको अन्तरमा डायलसिसमा लैजानका लागि कमाउने एक सदस्य नै खटिनुपर्दा त्यसको असर परिवारको कमाइमा सोझै पर्छ। त्यसमा पनि आप्रवासी कामदारहरू त समाजको पनि तल्लो वर्गका हुन्छन्। सन् २०१९ मा पोखरामा गरिएको एक अध्ययनले डायलसिसको बिरामीले मासिक ३२ हजार रुपैयाँ खर्च गर्नुपर्ने देखाएको थियो। यसैले आप्रवासी कामदारको स्वास्थ्य सिंगो समाजको चासोको विषय हो।
कामदारहरूका अरू केकस्ता स्वास्थ्य समस्या देखिएका छन् ?
यसमा थप अध्ययन–अनुसन्धानको खाँचो छ। काठमाडौंको सिभिल अस्पतालका डाक्टर विशेष पौडेलले एउटा कुराकानीमा सुनाउनुभएको थियो— वैदेशिक रोजगारीबाट फर्केकाहरूमा रक्त क्यान्सर सम्बन्धी समस्या पनि देखिएको छ। विदेशमा रङ र पेट्रोलियमसम्बन्धी काम गरेकामा यस्तो समस्या देखिएको छ। यसले अब वैदेशिक रोजगारीबाट फर्कर्कोहरूको स्वास्थ्यमा नयाँ समस्या देखिन थालेको संकेत गर्छ।
भनेपछि कामदारहरूको स्वास्थ्यको मुद्दालाई सिंगो परिवार र समाजसँग पनि जोड्नुपर्ने भयो ?
अचानक मृत्युको विषयले भन्दा मिर्गौला सम्बन्धी वा रक्त क्यान्सरजस्ता रोग लिएर फर्केकाहरूको विषय बढी गम्भीर छ। किनकि त्यसको असर सिंगो परिवारमा लामो समयसम्म रहिरहन्छ। हाम्रो अनुसन्धानमा समेत संलग्न वीर अस्पतालमा कार्यरत मिर्गौला रोग विशेषज्ञ डाक्टर अरुण सेढाईले आफूकहाँ विमानस्थलबाट सोझै डायलसिस गर्न आउने कैयन् आप्रवासी कामदार रहेको सुनाउनुभएको थियो। अहिलेसम्म हेर्दा आप्रवासी कामदारको सबैभन्दा ठूलो स्वास्थ्य समस्या मिर्गौला सम्बन्धी रोग नै हो। मिर्गौला रोगले त मान्छेलाई मृत्युसम्म दुःख दिइरहन्छ। यस्तो रोग लागेकाहरूले आफ्नै मृत्युको कामना गर्नुपर्ने दुःखद अवस्था छ।
कामदारको स्वास्थ्यको विषयले रेमिट्यान्सको उल्लासमा रमाइरहेको नेपाली समाजमा अर्को खतरनाक अवस्थातर्फ संकेत गरिरहेको छ ?
यो त टाइम बम जस्तो हो, टिकटिक गरेर खतरातर्फ संकेत गरिरहेको टाइम बम। तर नकारात्मक कुराहरू मात्रै छैनन्। आप्रवासी कामदारहरूको स्वास्थ्यमाथि सुरु भएका छलफल, अध्ययन र अनुसन्धानबाट सकारात्मक कुराहरू पनि आइरहेका छन्। कतारले आप्रवासी कामदारका पक्षमा धेरै सुधार गरेको छ। गत वर्ष मात्रै एमनेस्टीको रिपोर्टले पनि दक्षिण एसियाका कामदारहरूको स्वास्थ्य सम्बन्धी समस्यामा कार्डियाक डेथ र किड्नी मुख्य समस्याका रूपमा रहेको निष्कर्ष निकालेको छ। अर्को सकारात्मक कुरा भनेको, प्रमाणहरूमा आधारित अनुसन्धानहरू अघि बढेका छन्। मलेसियामा हामी आप्रवासी कामदारहरूको जीवनशैलीसम्बद्ध जोखिमहरू घटाउने उपायमाथि काम गर्ने योजनामा छौं।
तपाईंहरूले गरेको अध्ययन–अनुसन्धानलाई नेपाल सरकारले चाहिँ कसरी लिइरहेको छ?
पछिल्लो अनुसन्धानको रिपोर्ट प्रकाशित भएपछि योजना आयोगले आगामी योजनामा आप्रवासी कामदारहरूको स्वास्थ्यको विषय पनि समेट्ने भनेको छ। वैदेशिक रोजगारीमा जानुपूर्व दिइने तालिम सम्बन्धी पाठ्यक्रममा पनि हामीले केही सुधार गर्न खोजेका छौं। नेपालका अनुसन्धानकर्मीहरूले पनि आप्रवासी कामदारहरूको स्वास्थ्यका विषयमा केही गर्न खोजिराख्नुभएको छ। प्रमाणमा आधारित अनुसन्धानका नयाँनयाँ काम सुरु भएका छन्।
डा. निर्मल अर्याल, कान्तिपुर