आयात अनुमति नपाउँदा चिनी आपूर्तिमा समस्या

साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्वमा लक्षित सहुलियत पसल सञ्चालन गर्न थालेको कति वर्ष भयो ?

साल्ट ट्रेडिङले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरी बजारमा बिक्री वितरण हुने वस्तु र साल्ट ट्रेडिङ आफैले उत्पादन गरेका वस्तुमा छुटसहित बिक्री वितरण गर्न थालको करिब २५/३० वर्ष भएको छ । तर, चाडपर्वमा सहुलियत पसल सञ्चालनका लागि सरकारले नै बजेट छुट्याएर दिन थालको पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिपक बोहोराको पालाबाट हो । हालसम्म यसलाई साल्ट ट्रेडिङले निरन्तरता दिएको छ ।

नेपाल सरकरको निर्णयअनुसार यस वर्षको चाडपर्वका लागि सहुलियत पसल असोज २१ बाट काठमाडौँ उपत्यकाका विभिन्न आठ स्थानमा सञ्चालनमा आएका छन् । सतुंगल, कालिमाटी, पाटन, कोटेश्वर, बालकुमारी, भक्तपुर र लगनखेलमा विगतदेखि नै सञ्चालन गर्ने गरेको थियो । उपभोक्तालाई सहज खाद्यान्नको आपूर्तिका लागि यस वर्ष थप दुई स्थान कौशलटार र चाबहिलको सिफलमा पनि सञ्चालनमा ल्याएको हो । यससँगै देशभरि ५३ वटा शाखा कार्यालयबाट पनि उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको छ ।

साल्ट ट्रेडिङको सहुलियत पसलबाट उपभोक्ताले कुन कुन वस्तुमा कति छुट पाउँछन् ?

साल्ट ट्रेडिङको सहुलियत पसलबाट उपभोक्ताले नुन तेल, चिउरामा छुट पाउँछन् । तेल, चिउरामा प्रतिकिलो लिटर सात रुपैयाँसम्म छुट दिएको छ भने नुनमा दुई रुपैयाँ छुट छ । साल्ट ट्रेडिङसँग पप्र्यात चिनी नहुँदा बजार मूल्यभन्दा धेरै सस्तो ९७ रुपैयाँमा प्रतिवरिवार दुई किलो दिइरहेका छौँ ।

साल्ट ट्रेडिङले बिक्री गर्ने दाल चामल, गेडागुडी लगायतका वस्तुमा आफ्नै ब्रान्डका कति वस्तु छन् ?

साल्ट ट्रेडिङको आफ्नै ब्रान्ड भनेको एसटिसी हो । यस ब्रान्डका वस्तु रातो चिउरा, लोकल ताइचिन चिउरा, मुसुरो दाल, कालो मुसुरो गेडा, रहर दाल पोलिस नगरेको मास दाल ठूलो दाना, चना दाल ठूलो दाना, ठूलो काउली चना, बोडी ठूलो दाना, खैरो चना, खोस्टा मुंग दाल, नेपाली राजमा, भटमास, मुंग छाँटा दाल शान्ति तोरीको तेललगायतका खाद्य वस्तु छन् । साल्ट ट्रेडिङको आफ्नै ब्रान्डको चिउरा दाल, गेडागुडीका खाद्य वस्तु बजारमा आएको लामो समय भइरहेको छ ।

साल्ट ट्रेडिङले आफ्नै ब्रान्डमा ल्याएको शान्ति तोरीको तेल बजारमा ल्याएको करिब एक वर्ष भयो । अहिले बजारमा शान्ति तोरीको तेलको माग निकै बढेको छ । तर, हामीले मागअनुसार आपूर्ति गर्न सकेका छैनौं । हामीले यसको उत्पादन बढाउने योजना छ । हामीले सबै क्षेत्रमा उपभोक्ताको माग आपूर्ति गर्न नसक्ने हुँदा हाललाई काठमाडौं उपत्यका क्षेत्र भित्र र केही काठमाडौं उपत्यका बाहिरका जिल्लामा मात्र पुर्‍याउन सकेका छौँ । उपभोक्ताले हाम्रो एसटिसी ब्रान्डका वस्तु निकै रुचाएको हुँदा हामीले यसलाई थप विस्तार गर्ने योजना बनाएका छौँ ।

बजारमा चिनीको सहज रूपमा उपलब्धता नहुँदा साल्ट ट्रेडिङको सहुलियत पसलमा निकै भीड छ । यसैगरी चिनीमात्र खरिद गर्न आउने सर्वसाधारणले दुई किलो चिनीका लागि घन्टौँ लागेको गुनासो गरेका छन् । चिनीमात्र लिन आउने सर्वसाधारणका लागि लामो लाइन नबसी सहज रुपमा उपलब्ध गर्न केही व्यवस्था गर्नु भएन ?

बजारमा चिनीको सहज रुपमा उपलब्ध नभएका कारण सुरुका दिनमा सर्वसाधारणले धेरै लाइन बस्नु परेको हुँदा अहिले हामीले त्यो समस्याको समाधान गरेका छौँ । चिनीमात्र लिन आउने सर्वसाधारणका लागि फरक काउन्टर र अन्य चिनी दाल, चिउरा, तेल, नुन लिन आउनेका लागि छुटै काउन्टर बनाएका छौँ । साथै वृद्धहरूका लागि पनि छुटै लाइन बनाइ सहज रुपमा सामान उपलब्ध हुने व्यवस्था गरेका छौँ । साल्ट ट्रेडिङमा सामान खरिद गर्न आउने सर्वसाधारणका लागि लामो लाइन बस्न नपरोस् भन्ने उद्देश्यले तीन वटा छुट्टाछुट्टै लाइन बनाएका छौं ।

चाडपर्वको मुखमा बजारमा चिनीको उपलब्धता नहुँदा सर्वसाधारणले दुई किलो चिनी पाउन निकै सास्ती भोग्नु परेको छ । सहज आपूर्तिका लागि साल्ट ट्रेडिङलाई सरकारले समयमा चिनी आयातको अनुमति नदिएर हो की केही अन्य कारण पनि छन् ?

हामीलाई जोडेर चिनीका सामाचार आउने गरेका छन् । किनकि हामीसँग चिनी हुँदा बजार मूल्यमा हस्तक्षेप हुन्छ । जब हामीसँग चिनी हुँदैन । बजारमा चिनीको मूल्य आकासिएको सबैलाई थाहा पाएकै कुरा हो । चिनीको उत्पादन र माग हामीलाई थाहा छ । हाल नेपालमा चिनीको वार्षिक खपत तीन लाख टन छ । विभिन्न मिडियामा आएका समाचारअनुसार हाल १३ वटामात्र चिनी मिल सञ्चालनमा छन् । र उत्पादन करिब एक लाख ५० हजार टन मात्र छ । स्वदेशी उत्पादन मात्र एक लाख ५० हजार टन हुँदा हामीलाई एक लाख ५० मेट्रिक टन चिनी अपुग छ ।

त्यसैले हामीले कानुन अनुरुप चिनी आयात गरी बजारमा अभाव हुन नदिन पटक पटक जानकारी गराएको हो । यसैगरी आयातका लागि गत जेठमै अनुमतिसमेत माग गरेका हौँ । सरकारले हामीलाई चिनी आयातका लागि अनुमति दिएन । अर्थ मन्त्रालयले अनुमति रोकिदियो । आम उपभोक्तालाई सहज रुपमा अत्यावश्यक वस्तु सहज आपूर्ति गर्नु हाम्रो पनि कर्तव्य हो भनेर सरकारलाई पटकपटक चिनी अभाव हुन्छ भन्दै आयातको अनुमति माग गरेका हौँ । सरकारले हामीलाई समयमा चिनी आयात गर्ने अनुमति नै दिएन ।

तीन वर्षअघि नेपाल सरकारको अनुमतिमा हामीले चिनी आयात गरी रहेका थियौँ । विभिन्न समस्याले भारतको रक्सोल भन्दा ५०/६० मिटर पर तीन दिनका लागि चिनी रोकियो । एक्कासि नेपाल सरकारले चिनी आयातमा प्रतिबन्ध लगायो । त्योबेला अर्थमन्त्री युवराज खतिवडा थिए । यो प्रतिबन्धले ६ महिनासम्म डाइपोटमै चिनी रोकियो र साल्ट ट्रेडिङले नोक्सानी पनि बेहोर्नु परेको थियो । त्यसकारण हामीले चिनी आयात गर्न छोडिदिएका थियौँ । तर यसपटक चिनीको अभाव हुने देखिएपछि सरकारलाई हामीले जानकारी दिएको हो ।

सरकारले हाम्रो पत्रको बेवास्ता गर्दा यो अवस्था आएको हो । सरकारले बल्ल भदौको अन्तिमतिर मात्र आयात अनुमति दिएको छ । सरकारले हामीलाई अनुमति पत्र पाएको दिनबाट नै चिनी आयातका लागि टेन्डर आह्वान प्रक्रिया थालेका हौँ । अहिले चिनी आयातका लागि ट्रेन्डर आह्वान गरेको छ । तर, भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । जम्मा ६० लाख मेट्रिक टनमात्र चिनी निर्यात कोटा तोकेको हुँदा भारतबाट चिनी आयात गर्न सहज छैन । त्यही पनि हामीले तिहारसम्म चिनी ल्याउने प्रयासमा छौँ ।

सरकारले हामीलाई समयमा चिनी आयातको अनुमित दिएको भए आज सर्वसाधारणले चिनीका लागि चिर्काे मूल्य र सास्ती भोग्नु अवस्था आउने थिएन । राज्यले हामीलाई देशैभरि सहज रुपमा नुन आपूर्ति गर्ने जिम्मेवारी दिएको छ । आजको दिनसम्म हामीले राज्यको निमय मापदण्डअनुसार देशका सबै नागरिकलाई नुन आपूर्ति गरिरहेका छौँ । राज्यले हामीलाई चिनीको पनि सहज आपूर्ति गर्ने जिम्मेवारी दिए आम सर्वसाधारणले कुनै समयमा पनि चिनीको अभाव र चिर्को मूल्य तिर्नुपर्ने अवस्था सिजर्ना हुन दिने थिएनौं ।

वार्षिक रुपमा साल्ट ट्रेडिङले कारोबार कति गर्छ । अनि चाडपर्व लक्षित सञ्चालन गरेका सहुलियत पसलमा कति कारोबार छ ?

हाम्रो देशभरि ५३ वटा शाखा कार्यालय छन् । वार्षिक आठ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुन्छ । चाडपर्वको कुरा गर्दा गतवर्ष दुई करोड सात लाख रुपैयाँको कारोबार भएको थियो । यस वर्षको चार दिनमा ९८ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

ब्रजेश कुमार झा, कारोबार

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार