हामीलाई थकाइ लाग्दा आराम, भोक लाग्दा भोजन र तनाव हुँदा शान्ति चाहिन्छ । अझ सहरमा बस्ने मानिसका लागि त झनै जरुरी छ । थकाइ लाग्दा भरपूर आराम । भोक लाग्दा मिष्ठान्न भोजन र तनाव हुँदा शान्त वातावरण भयो भने हाम्रो शरीरले नयाँ जीवन पाएको महसुस गर्छ ।
काठमाण्डौं नजिकै भएर पनि खासै वास्ता नभएको रमणीय ठाउँ भक्तपुरको गुण्डु र दधिकोट पनि हुन् । पछि भने यो क्षेत्र धेरैको लागि हप्ते गन्तव्य हुन थाल्यो । यो ठाउँलाई चासो दिन थालेको लगभग ५ वर्ष जति भयो । सहरमा जस्तो खासै विकास नभएको र गाउँले जस्तो नदेखिने यहाँका स्थानीयहरू अति नै चतुर छन् । काठमाडौं वरिपरिका यस्ता क्षेत्रलाई काँठ र त्यहाँ बस्ने मानिसहरुलाई काँठे भनिन्छ ।
काठमाडौंको रत्नपार्कबाट बस वा निजी सवारीमा सवारी हुँदा लगभग ४० मिनेटमा त्यहाँ पुग्न सकिन्छ । यो सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले घुम्न लायकको छ । लगनखेलबाट १८ किलोमिटर । नयाँ बसपार्कबाट २५ किलोमिटर र कलंकीबाट लगभग ३० किलोमिटरको दूरी रहेको छ । ठिमी चोकबाट २.५ किलोमिटर र सूर्यविनायकबाट २.५ किलोमिटर हुनसक्छ । तर घ्याम्पे डाँडाबाट रानीकोटको चुचुरो पुग्न १.५ किलोमिटरको दूरी रहेको छ । पठाओ तथा इनड्राइभ जस्ता आधुनिक सवारीले झनै चाँडो पुर्याउँछ ।
त्यहाँको सबै बाटो कालोपत्रे भएको तथा खासै मोटर गाडी नचल्ने भएकाले समयको हिसाबले खासै टाढा हैन । यति हुँदाहुँदै पनि खासै चर्चाको विषयमा नआउने यी स्थानहरु जैविक विविधता, खानाको परिकार र स्थानीय भाषा र सँस्क[तिका कारण यो ठाउँको चर्चा गर्न योग्य छ ।
कुनै बेला यस्तो थियो कि यहाँको पुरानो आवादी र अस्तव्यस्त बाटो लगायतका कारणले मानिसहरुको काठमाडौं उपत्याकासँग खासै दोस्ती थिएन । तर गत पाँच सात वर्षमा यो क्षेत्रले गरेको प्रगतिले भने कयौं मानिसहरुको दृष्टि पर्न लागेको छ । विशेष गरी २०७४ को आम निर्वाचन पश्चात यो क्षेत्रले कोल्टे फेरेको हो । स्थानीयहरु भन्छन् त्यसैबेला देखि बाटो र पुलहरुको निर्माण सुरु भएको, मन्दीर र पाटीहरुको जिर्णोद्धार भएको, नयाँ घुम्ने गन्तव्यहरुको व्यवस्थापन गरेको, पिकनिक स्थलहरुको व्यवस्थापन भएको, नयाँ नयाँ होटल र रिसोर्टहरु खुलेको, ग्रामिण पर्यटनको बिकासका लागि होम स्टे (ग्रामीण अतिथिबास) को सूरुआत भएको । एक शब्दमा भन्नु पर्दा यो क्षेत्रको पुनर्निमाण भएको छ । यस्ता थुप्रै उदाहरणहरु छन् जो पोखरा घुम्न जाने आन्तरिक पर्यटकहरुलाई गुण्डु दधिकोटले सजिलै आफुतिर आकर्षीत गर्न सक्छ ।
रमाइलो घुमघाम र हप्ताभरिको थकान मेट्न १८०० मिटर उचाइ रहेको घ्याम्पे डाँडामा प्रसस्तै होटल र रिसोर्टहरु छन् । जहाँ ३ हजार रुपैयाँले मज्जाले घुम्न पाइन्छ । अझ माथि लगभग २८०० मिटरको उचाइमा रहेको रानीकोट पुग्नु भयो भने तपाइले भन्नुहुनेछ ‘यो त धर्तीको स्वर्गै रहेछ ।’ तर रानीकोट चाहिँ अलि खर्चीलो ठाउँ हो ।
यी ठाउँ घुमेर फर्कँदा चाहिँ मापसे नगर्नुहोला । बाटोमा मापासे चेकिङ हुन्छ । यता दधिकोटको माथि लाँकुरीभञ्ज्याङ जानुभयो भने कैलाश डाँडामा रेष्टुरेन्ट सहितको तीनै सहर देखिने टावर बनेको छ । अलि माथि लोकल कुखुराको सितन र भट्टीमा रमाउनेका लागि ताजा र खुबै स्वादिलो खाना खुवाउने रेष्टुरेन्टहरु छन् । अझै माथि लाँकुरिभञ्ज्याङ रिसोर्ट र त्यसका वरिपरि अरु सासाना होटल, लज र रिसोर्टहरु छन् । कुनै कुनै बाटो सुधार हुन बाँकी होलान्, अन्यथा सबैतिर कालोपत्रे भएका बाटो छन् ।
तपाइँ कुनैबेला ती ठाउँमा पुग्नु भयो भने स्थानीयले बनाएका अचार, ताजा तरकारी र मौसम अनुसारको फलफुल, नेपाली युवाहरुले उत्पादन गरेका लुइँचेको शिकार गर्न नबिर्सिनु होला । एकपटक कोही काठमाडौंबासी यो क्षेत्रमा पुग्यो मात्रै भने पनि त्यो व्यक्ति फेरि यहीँ फर्की आउने छ । अन्त जानेछैन । यो स्थानीबासीहरूको ठोकुवा हो ।
साहसीक यात्रा गर्न मन छ भने डाँडाभरि धेरै बाटो छन् । मललागे जति मस्तसँग हिँड्न सकिन्छ । अल्छि लागे उपरखुट्टी लगाएर आकाश हेर्नुस । जसरी पनि रमाइलो नै हुन्छ । ४ हजार जति पैसा साथमा छ भने ‘यो यो जिपलाइन’ छ । त्यहाँ लगभग १५ मिनेट देखि १ घण्टा बिताउन सकिन्छ ।
फागुन चैतमा भने डाँडाभरि राताम्मे गुराँस फुलेका भेटिन्छन् । रायोको साग, मुला, गाँजर आदि पाउने मौसम पनि यहि हो । वैशाख जेष्ठतिर पुगे वनैभरि एैँसेलु, काफल, बाटो वरिपरि भेटिने आरु तथा आरुबखडा र बारीमा फलेका फर्सिका गट्टाहरु किन्न नबिर्सनुहोला । छिमेकीलाई लाँकुरीभञ्ज्याङबाट ल्याएको भन्न पाउनुहुन्छ । साउन भदौतिर जानु भयो भने फर्सिका मुन्टा, घिरौला, गोलभेडा, नासपाती, भक्तपुरे काँक्रो दशैलाई अचार बनाउन चाहिनेजति किन्न सक्नुहुन्छ । तर याद गर्नुस है ! नयाँ मानिस देखेर अलि महँगो भन्लान् । काँठेहरु अलि बाठा हुन्छन् ।
असोज कार्तिक र मंसिरतिर पुग्नु भयो भने साँझमा (तिहारको) झिलिमिली सहितको सफा उपत्याका देख्नुहुनेछ । अझ यो भन्दा सुन्दर १८० डिग्रीमा देखिने हिमश्रृङ्खला आँखा झिमिक्क नगरी हेर्नुहोला । यो बेलासम्म खोल्सा खाल्सीमा छङ्छङी बग्ने ससाना झरनामा मुख धुन मन लाग्न सक्छ । पुस, माघ र फागुनमा घरबाट निस्कनु हुन्न होला ? तैपनि यो क्षेत्रमा आउनु भयो भने गणेश हिमालको हावाले तपाईँको कपाल आकाशतिर फर्काउने छ । डाँडाको टुप्पोको तातो घाम कम्ती प्यारो हुँदैन । यति बेला तपाईँले पाउने काँठे मुस्कान मात्रै हो ।
त्यहाँ चल्ने चैत्र र वैशाखको सिरसिरे हावा सम्झन लायक होला । फुल्नै लागेका गुराँसका रुखहरू सम्झिएर पछि फेरि आउने वाचा पनि गर्न सकिन्छ । झाडी भित्र छिर्नुभयो भने लुईँचे तथा वन कुखुराले तर्साउला । बँदेलले आक्रमण गर्न सक्छ । अझ चितुवासँग भेट भयो भने र के हुन्छ विचार गर्नुस् । यस्तो कुरा गरेर साथीभाइलाई गफ लाउन खुब आनन्द हुन्छ । जुनै मौसममा तपाईँ जानुभयो भने पनि तपाईँलाई गुण्डु दधिकोट स्वागत गर्न तयार छ ।
यही क्षेत्र हो अधिकांस काठमाडौंबासीलाई वर्षैभरि गाई र भैँसीको ताजा दूध खुवाउने । पानी नहाली ल्याउनुस न ल ? भनेर भन्नु भयो भने दूधवाली दिदीले मुखुक्क हाँसेर गाईको बाछो भएर जन्मनु पर्छ भन्ने ओठे जवाफ दिन सक्छिन् । त्यसैले दूधमा पानी नहाल्नुस चै नभन्नु होला ।
जहाँ मन्दिर र वनभोज स्थलसँगै छन् ।
दधिकोट हुँदै अलि उकालो जानु भयो भने अनन्तलिङ्गेश्वर महादेवको दर्शन गर्दा हुन्छ । देवीको दर्शन गर्न मन लागे पाथीभरा मन्दिर छ । अलि तल आउनु भयो भने सुवर्णेस्वर मन्दिर सबै लगभग डाँडा मै विराजमान छन् । ध्यान गर्न मन लागे पाथीभरा मन्दिरमाथि घ्याम्पे डाँडामा पाइलट बाबा आश्रम छ । दायाँबायाँ सूर्यविनायक मन्दिर र लिखानारायण मन्दिर सँगै पिकनिक स्पट रहेको छ । यो क्षेत्र आधा भक्तपुरको पिउने पानीको श्रोत पनि हो । कृपया फोहोर चै नगरिदिनुहोला ।
यो यस्तो ठाउँ हो जहाँ एक दिन कमी हुनसक्छ । शरीरले डोपामाइन उत्पादन गरेपछि मात्रै हामी खुसीको अनुभुति गछौँ । यो स्थानले तपाईँको शरीरमा त्यही उत्पादन गर्छ जसले तपाईँलाई खुसी दिन्छ ।
नजिकको तिर्थ हेला भने जस्तो यो क्षेत्र ओझेलमा परेपनि उपत्याकाबासीका लागि भने परिचित स्थान हो । तर कुनैबेला बाटोकै कारण कसैले वास्ता नगर्ने क्षेत्र २०७४ सालको निर्वाचनपछि भने, यो क्षेत्र एकैपटक मानिसहरुको नजरमा पर्न थालेको हो । त्यसैले जुनसुकै दलको उमेदवारले यो क्षेत्रमा जीत हासिल गरेपनि यो क्षेत्रलाई महेश बस्नेतको क्षेत्र भनेर चिन्छन् ।