तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

नेपालले युरोपेली मुलुक स्विट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

नेपालले स्विट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् ।

तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उनले बताएका छन् ।

नेपाल र स्विट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयू भएको र अरू धेरै मुलुकसँग पनि एमओयू पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

द्विपक्षीय हवाई सम्झौता अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण अंग भएकाले यसलाई क्रमशः विस्तार गर्दै लाने सरकारको नीति छ।

मन्त्रालयका सहसचिव लामिछानेले नेपालले विभिन्न मुलुकसँग गरेका सम्झौताका माध्यमबाट ती मुलुकबीच संरचनागत सम्बन्ध कायम हुने तथा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

आइकाओको मापदण्डअनुरूप दुई मुलुकबीचको हितमा रहेर द्विपक्षीय हवाई सम्झौता गरिन्छ। सहसचिव लामिछानेले कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न लागिएको पनि जानकारी दिएका छन् ।

नेपालले हाल ४० देश र युरोपेली संघ (इयू) गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० भन्दा बढी गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ। सरकारले पछिल्लोपटक अस्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो । रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार