जिरी
समुद्री सतहबाट १९०५ मिटरको उचाइमा रहेको जिरी विश्वको दोस्रो स्विजरल्याण्ड हो । स्विजिल्याण्डको ज्यूरीच सहरबाट जिरीको नामाकरण हुन गएको हो । जिरी र ज्यूरीच सहरको भौगोलिक बनावट उस्ता उस्तै छन् । जिरेल जातिको मुख्य वासस्थान भएको यस क्षेत्रमा मुख्यतः क्षेत्री, ब्राह्मण, शेर्पा, मगर लगायतका जातिहरू बसोबास गर्छन् ।
मिलन कार्की
सगरमाथाको प्रवेशद्वार भनेर चिनिने जिरीको बाटो हुँदै सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे सगरमाथा आरोहण गर्न गएका थिए । समुद्री सतहबाट जिरी बजारको उचाई १,९०५ मीटर रहेको छ । जिरी एक सानो उपत्यका हो । उपत्यका वरिपरिका डाँडाहरु भने निकै अग्ला रहेका छन् । बजारबाट उत्तर दिशामा रहेको चेर्दुङ डाँडाको उचाई ३७०० मीटर रहेको छ । जहाँबाट पहिला काठमाण्डौको धरहरा देखिन्थ्यो भन्ने केही बूढापाकाहरु अझै जीवित छन् । जुन डाँडोबाट गौरीशंकर हिमशृङ्खलाको पूरै दृश्य बडो मनमोहक देखिन्छ । जहाँबाट जो कोहीलाई गणेश हिमाल र गौरीशंकर एक दुई घण्टामा हिँडेर पुग्छु जस्तो लाग्छ । ताकि यी दुई हिमाल हाम्रो आँखा छेवैमा उभिन्छन् ।
जिरी
यहाँ विशेष गरी आलु, मकै कोदो खेती हुन्छन् । पछिल्लो समय किवी फल पनि प्रचुर मात्रामा खेती हुन लागेको छ । यहाँ चौँरी गाईको दूध तथा चीज छुर्पी पनि प्रसस्त मात्रामा पाइन्छ । जिरीबाट उत्तर तर्फको उकालो डेढ घण्टा हिँडेपछि चीज फ्याक्ट्री पुगेर यहाँको भरपुर अवलोकन गरी चीज तथा छुर्पी कसरी बनाइन्छ, हेर्न सकिन्छ ।
अझ यहाँको विशेषता भनेको एकदम सफा, स्वच्छ र मौसम अनुसारको अति उत्तम हावापानी हो । जिरी पुगेर जिरीको राम्रो भ्रमण गरेकाहरूले यो कुरा चाहिँ कहिल्यै भुल्न सक्दैनन् । प्राकृतिक सौंदर्यको कुरा त छँदै छ ।
मुख्य त जिरी जाने दुई थरी पर्यटक रहेका छन् । एक थरी यस्ता छन्, जो नाम सुनेको भरमा जिरी घुम्न जाने । एक रात होटलमा बस्ने र बजार डुल्ने । यिनीहरू भन्छन् जिरीमा त्यस्तो खासै केही छैन ।
अर्का थरी छन्, जो जिरीलाई भ्रमण सँगै अध्ययन गर्न जान्छन् । उनीहरू भन्छन्, जिरी साँच्चै स्विरल्याण्ड हो । विशेष त यहाँको हावापानी आहा !
काठमाण्डौंबाट १८८ किलोमीटर टाढा रहेको जिरी केवल पाँच छ घण्टामै पुग्न सकिन्छ । लोकल बसले चाहिँ आठ नौ घण्टा लगाउँछ । आफ्नै प्राइभेट गाडी लिएर हिँड्नेलाई चाहिँ हतारमा जिरी हिँड्नु भन्दा, खरी ढुङ्गामा गाडी रोकी त्यहाँ वरिपरिको मनमोहक दृश्य हेर्दै, शित्तल हावाको स्पर्श लिइ भरपुर आनन्द लिँदै गौरीशंकर र गणेश हिमालको सौंदर्य हेर्न सकिन्छ ।
जिरी घुम्न खासै महंगो खर्च लाग्दैन । तपाईंको साथमा दस हजार जति भए झनै राम्रो । जसले जिरी घुमेर फर्कँदा लेकको मीठो कोसेली किन्न सहयोग गर्नेछ ।
शैलुङ
धेरैको आहान छ कि ‘शैलुङ पुगेर मात्र स्वर्ग जानु ।’ दोलखा जिल्लाको दक्षिण पश्चिममा रहेको शैलुङ समुद्री सतहबाट झन्डै ३५०० मीटरको उचाइमा रहेको छ । शैलुङ तामाङ भाषाबाट राखिएको नाम हो । शै को अर्थ सय र लुङ को थुम्का रहेको छ । जहाँ एउटै पहाडमा सय ओटा सुन्दर र मनमोहक थुम्का रहेकोले यसको नाम शैलुङ राखिएको हो । यी सबै थुम्काको परिक्रमा गर्न झण्डै दुईतीन दिन लाग्न सक्छ । एक दिनमा ती थुम्का घुमेर सकिनन् । जसलाई जो कोहीले सिन्धुपाल्चोकको मुडे बजारबाट पनि देख्न सक्छन् ।
शैलुङ
विशेष त यो धार्मिक स्थल भएकोले यो ठाउँलाई शैलुङ्गेश्वर महादेव पनि भनिन्छ । जहाँ जनै पूर्णिमा लगायत विशेष तिथि मितिमा भव्य मेला लाग्ने गर्छन् ।
च्छो रोल्पा ताल
गौरीशंकर गाउपालीका वडा नं १ रोल्वालिङ उपत्यकामा पर्ने यो ताल समुद्री सतहबाट ४५८० को उचाईमा रहेको छ । यो नेपालको सबैभन्दा ठूलो हिमताल हो । काठमाण्डौंबाट चरिकोट हुँदै तीनचार दिनको पैदल यात्रापछि च्छो रोल्पा पुग्न सकिन्छ । गाडीमा जाने हो भने गौरीशंकर गाउपालीका झरेर गन्तव्य अघि बढाउन सकिन्छ । जहाँ तपईँले चौरी गाई, याक, डाँफे लगायतका अन्य जंगली जनावर देख्न सक्नुहुन्छ । लेक लाग्ने तथा उच्च हिमाली क्षेत्र भएकाले यहाँ जाँदा केही सावधानी अपनाएर मात्र जानुहोला ।
च्छोरोल्पा ताल
कालीन्चोक भगवती
चरिकोट बजारबाट १५ किलोमिटर उत्तरमा रहेको यो मन्दिर समुद्री सतहबाट ३८४२ मिटरको उचाईमा रहेको छ । कालीन्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाण्डौंको शोभा भगवती र अन्य भगवतीहरू एकै दिदीबहिनी हुन् भन्ने धेरैको जनविश्वास रहेको छ । यहाँबाट रोल्वालीङ हिमश्रृङ्खला लगायत अन्य धेरै प्रकृतिक मनोरम दृश्यहरू देख्न सकिन्छ ।
कालीन्चोक भगवती
पछिल्लो समयमा चर्चामा आएको ठाउँ हो कुरी भिलेज । जसलाई तस्बिरमा देख्दा ठ्याककै विदेशको कुनै सहरजस्तो देखिन्छ । अझ हिउँ परेको दिन यसको सुन्दरता बेग्लै किसिमले झल्कन्छ । हिउँदको बेला यी ठाउँ घुम्न जानुभयो तपाईँले मन अघाउञ्जेल हिउँ खेल्न पाउनुहुन्छ । साथमा १०,००० या ५००० पैसा भए जो कोही यहाँ दिल खोलेर रमाउन समक्छ ।
पाँच पोखरी
जिरी न.पा वार्ड नं १ मा अवस्थित यो ठाउँ रामेछाप जिल्लासँग सीमाना जोडिएको छ । समुद्री सतहबाट ४ हजार पाँछ सय मिटरको उचाईमा रहेको यो पोखरी पनि हिमताल नै हो । जहाँ ६ महिनासम्म पानी जमिरहन्छ । चैत देखि यता हिउँ पग्लन सुरु गर्छ । पाँच पोखरी अरु पोखरी मध्ये सबैभन्दा उच्च स्थानमा रहेको छ ।
जटा पोखरी
समुद्री सतहदेखि ४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी पाँच पोखरीको छिमेकी हो । नरिवलको झै जटा र आकार भएकोले यस पोखरीलाई जटा पोखरी भनिएको स्थानियहरू बताउछन् ।
यहाँ एउटै पोखरीका बीच भागमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ । पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापाखरी नै खिम्ती खोलाको मुल हो । यी दुवै पोखरीबाट पानीको फोहोरा निस्किरहन्छन् ।
साथै यहाँ भूत पोखरी र बहुलाहा पोखरी पनि रहेका छन् । यी दुईको पनि आफ्नै इतिहास छ ।
यहाँ चैत देखि भदौसम्म यात्रा गर्न सकिन्छ । जनै पूर्णिमाको दिन विशेष मेला लाग्छ । त्यस दिन देशका विभिन्न ठाउँबाट जानेहरूको निकै ठू्लो भीड जम्मा हुन्छ । यो क्षेत्र विविध जडिबुटीको खानी हो । जहाँ सुनापाती, जटामसी, लोठ सल्ला, चिराईतो पाखन वेद, ठूलो ओखती, पाँच औंले, विषमार, लगायत अरु पनि थुप्रै जडिबुटी पाइन्छन् । साथै यहाँ चौरी गाई तथा याक पनि धेरैको संख्यामा देख्न पाइन्छ ।
यहाँ जिरी तथा रामेछापको शिवालयको बाटो हुँदै जान सकिन्छ । जहाँबाट पैदल हिँड्ने हो भने गन्तव्य पुग्न दुई दिन लाग्छ । फर्कन चाहिँ एकै दिनमा सकिन्छ । साथै अन्य सवारी साधनमा आधा बाटोसम्म पुगेर पैदल छोट्याउन पनि सकिन्छ ।