अमेरिकाकै सिको गरौँ, नेपालको गाँजा बेचौं

गाँजा एउटा अनुपम प्राकृतिक जडिबुटी हो । यसको विज्ञान जान्यो भने यो जत्तिको राम्रो जडिबुटी अरु छैनन् । आम जनमानसमा अझै पनि गाँजालाई नकारात्मक दृष्टिले हेर्ने चलन छ । म पनि पहिले गाँजाप्रति धेरै नकारात्मक थिएँ । अमेरिका गएर डा. सञ्जय गुप्ताको रिपोर्टहरू अध्ययन गरेपछि म गाँजाप्रति सकारात्मक हुन पुगेँ ।

डा. गुप्त विश्वप्रसिद्ध सि.एन.एन टेलीभिजनमा प्रमुख स्वास्थ्य संवाददाताको रुपमा काम गर्नुहुन्छ । उहाँले गाँजा सम्बन्धि विधिन्न अध्यन गरेर गाँजाको बारेमा धेरै अवधारणाहरू बाहिर ल्याउनुभएको छ । उहाँको गाँजा सम्बन्धि Weed 1, Weed 2, Weed 3, Weed 4 र Weed 5 गरी ५ ओटा डकुमेन्ट्रीहरू सि.एन.एन.मा प्रकाशित छन् । सन् २०१३ मा मैले उहाँको Weed 1 तथा Cannabis Madness डकुमेन्ट्रीलाई अध्ययन गर्न पाएको थिएँ । त्यसपछि नै मैले पहिलो पटक गाँजा चाखेको हुँ । त्यो पनि अमेरिकामा ।

सन् १९७६ अघि नेपालमा गाँजा वैधानिक थियो । त्यो समय साना व्यापारीदेखि लिएर गाँजा कारोबार गर्ने सामान्य व्यापारीहरूसँग समेत बेचबिखन गर्ने लाइसेन्स हुन्थ्यो । नेपालमा गाँजाको व्यापार फस्टाएको थियो । धेरै देशका पर्यटकहरू नेपाल आउथे । अझ विशेष गरी अमेरिकनहरू नेपालमा नेचुरल गाँजा खान आउथे । अमेरिकाले आफ्ना नागरिकहरू नेपाल आएर खर्च गर्ने प्रवृति बढ्न थालेपछि अमेरिकाको दबाबमा सन् १९७६ मा गाँजा व्यापारलाई कानुनी प्रतिबन्ध लगाएको हो भन्ने सुनिन्छ । तर अमेरिकाले भने सन् १९९५ मा पहिलो पटक क्यालीफोर्नियामा गाँजा वैधानिक गरेको देखिन्छ ।

त्यसपछि अमेरिकाले बिस्तारै अरु केही राज्यमा वैधानिक गर्दै गएको छ । सन् २०१३ मा डा. गुप्ताको अध्ययनपछि अन्य धेरै राज्यहरूले गाँजालाई (हालसम्म करिब ३५/३६ राज्यले औषधोउपचार (Medical Purpose र १८/ १९ राज्यले Recreational Purpose सहित) वैधानिक गरिसकेका छन् । जसले गर्दा गाँजाको व्यापार धेरै फस्टाएको देखिन्छ । गाँजा खेतीको अनुमति पत्र पाएकाहरूले खेती गर्न सक्छन् । तर त्यहाँ गाँजा किनबेच गर्नलाई केही कानुनी प्रक्रिया भने पूरा गर्नुगर्छ ।

डा. गुप्ताको गाँजा सम्बन्धि रिपोर्ट असाध्यै राम्रो छ । अहिले सबैले यो रिपोर्ट यूट्युवमा पढ्न पाउनुहुन्छ । जसको लागि तपाईँले यूट्युवमा गएर “Weed report or Canabis Madness डा. सञ्जय गुप्ता” सर्च गर्नुभयो भने तपाईँले गाँजा सम्बन्धि उहाँले तयार पार्नुभएको सबै रिपोर्ट पढ्न पाउनुहुन्छ । उहाँले तयार पार्नुभएका रिपोर्टहरू गहन अध्यनबाट प्रकाशित भएका हुन् ।

डा. गुप्ताको एउटा गहन अध्ययन (Case study) को उदाहरणः

अमेरिकाको एउटा राज्यमा एक सैनिक दम्पती बस्थे । ती सैनक जवान अफगानीस्तानमा कार्यरत थिए । उता श्रीमतीले छोरी जन्माइन । ती नवजात शिशु धेरै बिरामी पर्थिन् । उनलाई दिनकै सयौँ पटक स्ट्रोक हुन्थ्यो । पहिलो सन्तानको यो अवस्थाले ती दम्पती साह्रै चिन्तित भए । अमेरिकामा सैनिकका परिवारको सित्तैमा सम्पूर्ण उपचार हुन्छ । अस्पतालमा उनको सबै मेडिकल चेक भयो । जति उपचार गर्दा पनि उनी निको नभएपछि उपचारको लागि आमाले धेरै उपायको खोजी गरिन् । पछि उनले गाँजामा पाइने एक तत्व (THC/CBD) ले उनको उपचारमा सहयोग गर्ने पत्ता लागाएपछि डाक्टारहरूसँग सल्लाह गरी उक्त तत्वको प्रयोग गर्ने अनुमति लिइन् । पछि उक्त तत्वको पेस्ट बनाएर बच्चाको खानेकुरामा हाली खुवाउन थालेपछि चमत्कार नै भयो । आशै मारेको बच्चा निको मात्र हैन, एकदम स्वस्थ भयो ।

अमेरिकामा गाँजाको प्रचार प्रसार मात्रै नभएर व्यापक बिजनेस हुन्छ । तर यसको सेवनको लागि चाहिँ केही कानुनी नियम पालना गर्नुपर्छ । मदिरा तथा सुर्तीजन्य पदार्थ जस्तै गाँजा पनि २१ वर्ष कटेपछि मात्रै खरिद र सेवन गर्न पाइन्छ । जथाभावी बिक्री वितरण र सेवन गर्नेलाई कानुनी कार्बाही हुन्छ । कतिपय राज्यका मानिसहरूलाई यदि डाक्टरले गाँजा सेवन गर्ने सल्लाह दिएमा र यदि उक्त राज्यमा गाँजा वैधानिक छैन भने ती राज्यका बिरामीहरू बसाइँ सरेर भए पनि गाँजा वैधानिक भएको राज्यमा गएर उपचार गर्छन् । तोकिएको ठाउँमा मात्र यसको प्रयोग गर्नुपर्छ ।

अमेरिकामा गाँजाको परिकार भन्दा पनि गाँजालाई विविध रूपमा सेवन गरिन्छ । जस्तै धुवाँ, स्प्रे, वाफ र पेस्ट आदिको रूपमा सेवन गरेको पाइन्छ । तर नेपालमा भने धुवाँ लगायत खिर, रोटी र अचार बनाएर प्रयोग गर्ने गरेको पाइन्छ । यसै गरी यसलाई अन्य तरिका, जस्तैः चिया, सर्वत, दूध आदिमा राखेर सेवन गर्ने गरेको समेत पाइन्छ । यसको सेवन गर्ने अरु पनि धेरै तरिकाहरू छन् ।

गाँजा विविध गुणले भरिपूर्ण छ । यसको आफ्नै विशेषता छ । यो निद्राको लागि अति उत्तम औषधि हो । निद्राको लागि मान्छेहरू अति कडा औषधि सेवन गर्छन् । अमेरिकामा सबैभन्दा धेरै निद्राकै रोगी छन् । निद्राको अत्याधिक औषधि पनि उनीहरू नै प्रयोग गर्छन् । तैपनि निदाउन सक्दैनन् । गाँजाले अति मीठो निद्रा ल्याउँछ, सानो बालकको सुताइ जस्तै । जसरी बच्चालाई आफू नाङ्गो सुतेको थाहा हुँदैन र र्याल सिँगान बगेको पनि थाहा हुँदैन । गाँजाले पनि यस्तै केही थाहा नहुने गरी मस्त निद्रा ल्याउँछ । जसको लागि तपाईँलाई जसरी मन लाग्छ, सेवन गर्न सक्नुहुन्छ ।

गाँजाले दुःखाइ निको पार्न रामवाणको काम गर्छ । यसको साथै यसले अति भयानक क्यान्सर, ट्यूमर, वाक वाक लाग्ने, वाथ, स्ट्रोक, स्पाइनल इन्जुरी, यौन समस्या, पेटको रोग, मस्तिष्कमा हुने केही समस्या लगायत अन्य धेरै रोगको निवारण गर्छ ।

अरू वनस्पति जस्तै गाँजाको धेरै प्रकार हुँदैनन् । तर अंग्रेजीमा यसलाई फरक किसिमले चिन्ने र बोलाउने गरेको देखिन्छ । जस्तैः क्यानाबिस (Cannabis), मारिवाना (Mariajuana), वीड (Weed) आदि । यसको असली नाम चाहिँ मारिवाना हो । मारिवानाको मात्रा पुर्याएर खानुभयो भने तपाईँलाई कुनै असर गर्दैन । तर अरु औषधि ओभर डोज भयो भने जो कोहीको क्षणभरमै ज्यान जान सक्छ । तर गाँजाको ओभर डोज भएर कोही मरेको आजसम्म कसैले सुनेको छैन । डा. गुप्ताको अध्यनले अमेरिकामा करिब ७७ प्रतिशत डाक्टरहरूले आफ्ना बिरामीहरूलाई दुःखाइको औषधि (Pain Pills) भन्दा गाँजाको सेवन गर्न सुझाव दिन रूचाउछन्, किनकि यसको साइड इफेक्ट छैन ।

विश्वका धेरै मुलुकहरू, जस्तैः ल्याटिन अमेरिका, फ्रान्स लगायत केही यूरोपियन राष्ट्रहरूमा गाँजा प्रतिबन्ध छैन । गाँजाको अध्ययन गरेर नै उनीहरूले आफ्नो देशमा गाँजाको बिजनेस थालेका हुन् । एक समय अमेरिकामा मारिवाना सर्टेज भएको थियो । जुन बेला २ सय डलर पर्ने मारिवानालाई २ हजार डलर सम्म परेको थियो ।

यो पंतिकार सन् २००४ मा अध्ययनको सिलसिलामा नेदरल्याण्ड गएको बेला त्यहाँको राजधानी आम्स्टरडाम ( Amsterdam) का कफी पसलमा समेत गाँजा किनेर सेवन गर्न छुट भएको देखेको थियो । जसले गर्दा आम्स्टरडाम विश्वमा चर्चित हुनुका साथै देशले ठूलो आयआर्जन गर्ने गरेको देखिन्थ्यो ।

एउटा दुःखद् पक्ष के छ भने, हामी गाँजाको नकारात्मक कुरा खोतल्दै बस्छौँ । विदेशीहरू यसको अध्ययन गर्छन् । देशलाई समृद्ध बनाउँछन् । तर नेपालमा यसको नकारात्मक हावा बढी फैलिएको छ । यसलाई सकारात्मक बनाउन कोसिस् गरियोस् । मलाई के लाग्छ भने, विश्वभरि जति पनि मेडिकल माफियाहरु छन् । तिनीहरूले नै गाँजा बारे नकारात्मक हावा फैलाउँछन् । यसो नगरे उनीहरूको व्यवसाय नै चल्दैन । अनि नकारात्मक हावा किन नफैलाउन त ?

मध्यपान र सुर्तीजन्य सेवन अत्यन्त हानिकारक छ । तर पनि यी पदार्थ खुल्ला रूपमा व्यापार भैरहेको छ । मदिरा र सुर्तीजन्य सेवनले प्रत्येक पल लाखौँ मानिसको ज्यान लिएको छ । मदिराको कारण हत्याहिंसाको माध्यम संसारभरि नै बढ्दो छ। तर, गाँजा खाएर झगडा भएको र मान्छे मारेको घटना चाहिँ छैन । सायदै यस्तो घटना विश्वमा कतै सुनिएका छैनन् । गाँजाले खासमा कुनै शारिरीक समस्या ल्याउँदैन ।

रक्सी पिउन थालेपछि ५० प्रतिशत मान्छेलाई रक्सी पिउने लत लाग्छ । तर गाँजामा यस्तो लत त्यति धेरै मात्रामा हुदैन । यदि गाँजाको पनि लती भए ९, १० प्रतिशत मात्रै होलान् । यसको सबैभन्दा नकारात्मक पक्ष भनेको यसले किशोर किशोरीहरूलाई बढी लत बसाउने सम्भावना हुन्छ । किककि उनीहरू उमेरले परिपक्क हुदैनन् । त्यसैले मनोरञ्जनको लागि सेवन गर्नाले लत लाग्ने डर बढी हुन्छ । उनीहरूले केही कारण गाँजा पाउन सकेनन् भने ड्रग्स, कोकिन र हिरोइन लगायत अन्य औषधी सेवन सम्भावना बढी हुन्छ । यो उमेरमा उनीहरूले आफूलाई खासै कन्ट्रोल गर्न सक्दैनन् । यही कारण उनीहरू कुलतमा फस्ने हुन् ।

गाँजा प्रकृतिको अनुपम उपहार हो । नेपाल गाँजा खेतीको लागि अति अत्तम विकल्प भएको राष्ट्र हो । विश्वका अन्य देशमा गाँजा खेती नेपालमा जस्तो सजिलै हुँदैन । हरेक विधि अपनाउनु पर्छ । तर नेपालमा आफै उम्रन्छ । यसको लागि धेरै परिश्रम गर्नु पर्दैन । जहाँ यसको बीउ छर्यो त्यहीँ उम्रन्छ र मज्जाले फस्टाउछ । यहाँको भौगोलिक बनावट र हावापानी पनि अत्ति उत्तम छ । समुद्री सतहदेखि दुई हजार फिटभन्दा माथि उत्पादित गाँजाको स्वाद र गुणस्तर धेरै राम्रो हुन्छ । अझ उच्च पहाडी भेग र केही हिमाली जिल्लामा उत्पादन हुने गाँजाको गुणस्तर बेग्लै छ ।

यहाँ विश्वकै गुणस्तरीय गाँजा पाइने भएकै कारण पहिले पहिले यूरोप अमेरिकाबाट धेरै विदेशीहरू आएर रमाउने गर्थे । अधिकांसले गाँजालाई रमाइलोको लागि सेवन गर्छन् । यहाँको गाँजा नेचुरल हुन्छ । विदेशमा हुन्न । धेरैले नेचुरल गाँजा सेवन गर्न चाहन्छन् । नेपाल सरकारले गाँजा प्रतिबन्ध खुलाउने हो भने झण्डै आधा जनसंख्या विदेशीनबाट रोकिन्छन् । यहीँ राम्रो आम्दानी गर्न सक्छन् । बाँझो खेतबारीहरू बिस्तारै हराभरा हुन थाल्नेछन् ।

त्यसैले प्रकृतिको यस्तो अमूल्य बरदानलाई नेपाल सरकारले पनि चिनेर, मनन् गरेर यसलाई वैधनानिक गराउँदा आर्थिक विकासमा यसले ठूलो योगदान पुर्याउने निश्चित छ । तर यसलाई वैधानिक घोषणा गर्नु पूर्व यसको विषयमा राम्रो अध्यन गरी यसलाई प्रबर्धन र उचित व्यवस्थापन गर्नको लागि तीनै तहका सरकारलाई सहज हुने गरी स्पस्ट नीति नियम बनाउन जरूरी हुन्छ ।

फेसबुक प्रतिक्रिया

लेखकको बारेमा

द्रोण के. सी.

लेखक समाजशात्री हुनुहुन्छ र वहाँ बिगत दुइ दशक देखि अमेरिका बस्दै आउनुभएको छ

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार