हुम्लाको स्याउ जिल्ला बाहिर

हुम्ला, हुम्लामा फलेका स्याउ पहिलो पटक ढुवानी अनुदानमा जिल्ला बाहिर ढुवानी हुने भएका छन् ।

स्याउ खेतीमा काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले हुम्लामा फलेका स्याउ ढुवानी अनुदानमा जिल्ला बाहिर निकासी गर्न लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) का कार्यालय प्रमुख विष्णुबहादुर मग्रातीले बताएका छन् । यस वर्ष पहिलो पटक २० टन हुम्लाका स्याउ ७५ प्रतिशत ढुवानी अनुदानको (स्याउ जोन) सहयोगमा जिल्ला बाहिर निकासी गर्न लागेको उनले बताएका छन् ।

अहिले सिमकोटबाट नेपालगञ्जको ढुवानी दर प्रतिकेजी ६० रुपैयाँ पर्छ जसमा ४५ रुपैयाँ परियोजनाले अनुदान दिने र प्रतिकेजी १५ रुपैयाँ किसान आफैले ढुवानी तिर्नु पर्नेछ । किसानले उत्पादन गरेको स्याउ बारीमै खेर जाने भएकाले यसको बजारीकरणका लागि ढुवानी अनुदानको व्यवस्था गरिएको प्रमुख मग्रातीले बताएका छन् ।

हुम्ली किसानले फलाएका स्याउ जिल्ला बाहिर निकासी गर्न परियोजनाले दस लाख रुपैयाँ लगानी गर्ने भएपछि जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा जिल्ला बाहिर निकासी गर्न ढुवानी अनुदान दिने निर्णय गरेको हो । कात्तिक महिनामा बोटबाट टिपेको स्याउ गुणस्तरीय हुने भएकाले कात्तिकमा टिपेको स्याउलाई मात्र ढुवानी अनुदान दिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लाको उत्तरी भेगका ३ वटा गाउँपालिका नाम्खा, सिमकोट र खार्पुनाथमा असोज महिनासम्म स्याउ काँचै हुने र कात्तिकमा मात्र पाक्ने भएकाले स्याउ काँचो नहोस् र गुणस्तरीय स्याउ बजारमा बिक्री गर्नका लागि यो नियम लागू गरिएको (स्याउ जोन) कार्यालय प्रमुख मग्रातीले बताएका छन् । अब कात्तिकमा टिपेको स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ । गाउँमा प्रतिदाना पाँच रुपैयाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना १० रुपैयाँमा स्याउ बिक्री हुने गरेको छ । यो मूल्य सिजन र बेसिजन उस्तै हुने भएकाले यसका लागि ६ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र ६ भन्दा बढी दाना प्रतिकेजीमा गए बिग्रेड निर्धारण गरिएको छ । यो मूल्य सदरमुकाम सिमकोटका लागि लागू गरिएको उनले बताएका छन् । यसअघि दानाका हिसाबले बिक्री भइरहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आएपछि जिल्लामा स्याउको मूल्य तोकिएको हो ।

हुम्लामा २ हजार ८ सय ८५ हेक्टर जमिनमा स्याउ लगाएर ४ हजार ३ सय २१ मेट्रिकटन स्याउ गत वर्ष उत्पादन भएको थियो भने यस वर्ष पूर्णरुपमा स्याउ टिपी नसकेकाले स्याउको उत्पादित परिमाण अहिल्यै एकिन गर्न नसकिने कार्यालयले जनाएको छ ।

जनक बहादुर शाही

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार