चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)सँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा भइरहेको छ ।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने बताएका छन् ।
बीआरआई परियोजना लागू भएका मुलुक चिनियाँ ऋण पासोमा परेको र स्वतन्त्र व्यापारको अवधारणालाई यसले निषेध गर्न खोजेको आरोप खेपिरहेको सन्दर्भमा सीले बीआरआईका लागि ८ बुँदे अवधारणा अघि सारेका हुन् ।
सीले अघि सारेको ८ बुँदे अवधारणाको पहिलो बुँदामा युरोप र एशियामा ढुवानीका लागि कोरिडोर उल्लेख छ । यस्तै दोस्रो बुँदामा अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौता सहितको सिल्क रोड विद्युतीय वाणिज्य क्षेत्र बनाउने उल्लेख छ ।
तेस्रो बुँदामा चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रितवद्धता रहेको छ । यस्तै चौथो बुँदामा हरित विकास उल्लेख छ भने पाँचौँ बुँदामा विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकासबारे उल्लेख छ ।
छैठौँ बुँदामा यस क्षेत्रका मानिसबीच सांस्कृतिक आदानप्रदानका साथै पर्यटकीय सहकार्य उल्लेख छ भने सातौँमा पारदर्शिता सहितको सहकार्य गरिने उल्लेख छ । आठौँ बुँदामा बीआरआई सम्बद्ध संस्था र सचिवालय गठन गर्ने भनिएको छ ।
आठ बुँदे अवधारणा अघि सारेका सीले चीनले पारदर्शीरुपमा आपसी सहकार्य गर्दै सबैको साझा समृद्धिमा टेवा पुर्याउने बताए । ‘चीनले आफ्नो मात्रै विकास गर्न खोजेको छैन । पारदर्शीरुपमा आपसी सहकार्य गर्दै समय सापेक्ष आधुनिकीकरणको बाटोमा सबैलाई अघि बढाउनु हाम्रो लक्ष्य हो,’ सीको भनाइ उद्दृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।
चिनियाँ राष्ट्रपति सीले सिल्क रोड पर्यटक प्रवर्द्धनका लागि पर्यटकीय गठबन्धन बनाउने घोषणा गरेका छन् । ‘अन्तर्राष्ट्रिय संस्था, मिडिया, थिंकट्यांक तथा सांस्कृतिक मञ्चमार्फत यस क्षेत्रमा सांस्कृतिक आदनप्रदानका लागि पर्यटकीय गठबन्धन निर्माणका साथै बीआरआई सचिवालयको स्थापना गरिनेछ,’ उनले भनेका छन् ।
यस्तै हरित विकासको प्रवर्द्धनका लागि विकसित मुलुकका १ लाख मानिसलाई तालिम प्रदान गर्ने उनको घोषणा छ । वार्षिक रुपमा विद्युतीय व्यापार महोत्सव आयोजना गर्ने उनको घोषणा छ ।
आगामी पाँच वर्षभित्र बीआरआईमार्फत वाणिज्य व्यापार ३२ खर्ब र सेवा व्यापार ५ खर्ब पुर्याउने लक्ष्य रहेको सीले बताएका छन् । ‘यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिवद्धता रहेको छ,’ सीले सम्मेलनमा भनेको कुरा उद्दृत गर्दै सिन्ह्वाले लेखेको छ ।
यान्त्रिक बौद्धिकता (एआई)को लोकप्रियता र चुनौती बढिरहेको अवस्थामा सीले यसको विकास र अनुसन्धानका लागि बीआरआईमा सहकार्य गर्ने मुलुकहरुमा अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
चीनको बीआरआईमा आकर्षण बढ्दो छ । तमाम आलोचनाका बाबजुद बेइजिङले आफ्नो प्रभाव विस्तार जारी राखेको छ ।
‘सुरक्षित एआई प्रविधिको विकास चीनको प्राथामिकता हो । यसको अनुसन्धानका लागि वैज्ञानिक प्रयोगशालाका साथै प्रत्येक वर्ष बीआरआई विज्ञान सम्मेलन गर्ने घोषणा गर्दछु,’ सीले सम्मेलनमा भनेका छन् ।
सीले स्वास्थ्य करिडोर निर्माण गर्ने पनि उल्लेख गरेका छन् । कोरोना महमाकारीको अवस्था स्मरण गर्दै सीले स्वास्थ्य संकटकालको अवस्थामा सबैलाई सहज र सरल स्वास्थ्य सुविधा तथा सामाग्री पहुँचका निम्ति स्वास्थ्य कोरिडोर आवश्यक रहेको औँल्याएका हुन् ।
के होला बीआरआईको भविष्य ?
हालसम्मको स्थितिमा बीआरआईमा १४५ मुलुकले हस्ताक्षर गरेको अवस्था छ । विश्वको कुल गाह्रस्थ उत्पादनमा ५० प्रतिशत हिस्सा योगदान गर्ने मुलुक र ७५ प्रतिशत जनसंख्याले यसमा सहभागिताका लागि हस्ताक्षर गरेका हुन् ।
बीआरआईको सबैभन्दा ठूलो परियोजना चीन-पाकिस्थान आर्थिक कोरिडोर हो । यसमा ६० अर्ब अमेरिकी डलर बराबर लगानी भएको छ । सडक, रेलमार्ग तथा पाइपलाइन निर्माणका लागि यो मात्रामा लगानी भएको हो ।
यसको लक्ष्य मध्ये एशिया, मध्यपूर्व तथा पश्चिम चीन हुँदै दक्षिण तथा दक्षिण पूर्वी एशियामा पेट्रोलियम पदार्थ पुर्याउनु हो । एशियाका विभिन्न मुलुकमा बीआरआईले लोकप्रियता प्राप्त गरेपनि कतिपय मुलुकमा चीनको ऋण पासोका रुपमा यस परियोजनालाई लिने गरिएको छ । परियोजनाको नाममा चीनले भूराजनीतिक हस्तक्षेप गर्ने आरोप पनि कतिपय मुलुकले लगाउने गरेका छन् ।
श्रीलंकाको हमनटोटाको उदाहरण दिँदै चीनले ऋण पासोमा पार्नेगरेको भन्दै धेरै विज्ञहरुले बीआरआईको आलोचना गरेका छन् । कम्बोडियामा परियोजनाका नाममा साउथ चाइना सीमा अवाञ्छित गतिविधि गर्ने गरेको आरोप चीनमाथि छ । केन्याको रेलमार्ग अलपत्र रहेको देखाउँदै यसमा चरम भ्रष्टाचार र अपारदर्शिता रहेको तर्क गरिन्छ ।
यसका अलावा चीनको बीआरआईमा आकर्षण बढ्दो छ । तमाम आलोचनाका बाबजुद बेइजिङले आफ्नो प्रभाव विस्तार जारी राखेको छ ।
उसले पूर्वाधारको विकास गरेर नभइ सांस्कृतिक आदानप्रदानमार्फत आफ्नो प्रभाव विस्तार गरेको हो । उसले विभिन्न मुलुकका हजारौँ विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने गरेको छ । अनुसन्धान गर्ने संस्था पीउका अनुसार मेक्सिको, अर्जेन्टिना, दक्षिण अफ्रिका केन्या र नाइजेरिमा चीनप्रतिको आकर्षण बढिरहेको छ ।
विश्लेषक ज्याकोब गन्टर भन्छन्-‘चीनले धेरै मुलुकलाई पश्चिमा अभिमुखीकरणबाट पछि त फर्काएको छैन तर आफ्नो प्रभाव गतिशिलैसँगै विस्तार गरेर उसले कुटनीतिक विजयको सुरुवात गरिसकेको छ,’ ज्याकोबले भने ।
बीआरआईमार्फत थप प्रभाव विस्तारका लागि राष्ट्रपति सी चिनफिङले पारदर्शी सहकार्यलाई जोड दिएका छन् । यसको प्रभावकारी उद्देश्यका लागि चीनले सानो र सुन्दर अवधारणा अघि सारेको छ । बीआरआई परियोजनाको प्रभावकारी कार्यान्वयन नयाँ रणनीति विना संभव नरहेको निष्कर्षमा चीन पुगेकै कारण उसले नयाँ नीति लिएको हो ।
सानो परियोजनाको सफल कार्यान्वयन गराउँदै ठूलो प्रभाव विस्तार गर्ने रणनीतिमा चीन छ । उदाहरणका लागि उसले लाइबेरियामा बाँसको उत्पादन र त्यसबाट उत्पादित सामाग्रीको बजार प्रवर्द्धन प्रणालीमा सहयोग गरेको छ । तोंगा र सामोआमा उसले बायोग्यास प्रविधिमा सहयोग गरेको छ । फिजी, पपुवा न्युगिनी, रुवान्डामा उसले च्याउ उत्पादन प्रविधिमा सहयोग पुर्याएको छ ।
चीनले विद्युतीय सिल्क सडकका लागि दुरसञ्चार र विद्युतीय पूर्वाधारमा ध्यान दिएको छ । पश्चिमाले चिनियाँ फाइभ जी उपकरणलाई प्रतिबन्ध लगाएको अवस्थामा यसबाट चिनियाँ कम्पनीलाई निकै फाइदा पुग्ने विश्लेषकहरु बताउँछन् । नयाँ रणनीति अन्तर्गत चीनले वित्तिय बाह्य ऋण तथा लगानीमा हाल ५० प्रतिशत कटौती गरेको अवस्था छ । यस्तै बीआरआईमा आवद्ध मुलुकको एकमात्र ऋणदाताबाट पनि चीन पछि हटेको अवस्था छ । सानो परियोजनामार्फत सकरात्मक प्रभाव छोडेर ठूलै लक्ष्य हात पार्ने रणनीतिमा अब चीन अघि बढेको छ । बीआरआईमार्फत साझा भविष्य सहितको विश्वसमुदाय निर्माण गर्ने चिनियाँ सपना छ । त्यसकै जग बसाउन उसले साना परियोजना सफल बनाएर आकर्षित गर्ने रणनीति अघि सारेको हो ।
गत महिना चीनले आफ्नो विश्वव्यापीकरणको परिभाषा सार्वजनिक गरेको थियो । जसमा भनिएको छ-‘वर्चश्ववादी पश्चिमा शक्तिले नेतृत्व गरेकोभन्दा अधिक निष्पक्ष, अधिक समावेशी र शून्य जालझेलको मान्यता सहित चिनियाँ विश्वव्यापीकरण अघि बढ्नेछ ।’
बीआरआईका सहकार्यका लागि सबैलाई ढोका खुला रहेको त्यस श्वेतपत्रमा उल्लेख थियो । ‘बीआरआई नीजी नभएर पूर्वाधार विकासमा सघाउने साझा थलो हो । चीनले यसमा आफ्नो मात्रै नभएर सबैको सफलतामा सहयोग गर्न चाहेको छ।’
यस परियोजनामा चीनले खर्बौँ लगानी गरिसकेको छ । आलोचना र विरोधका बाबजुद यसमा आकर्षण पनि बढिरहेको समयमा नयाँ नीतिमार्फत चीनले बीआरआईको प्रभावकारी कार्यान्वयनमा कस्तो सफलता पाउला प्रतिक्षित छ ।
एजेन्सी