पर्यटकका लागि ‘वनवास’

चितवन, बाघ, गैंडा जस्ता दुर्लभ वन्यजन्तु हेर्न रुचि राख्ने स्वदेशी विदेशी पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज पहिलो रोजाइ हो । दिनभर जंगल डुलेर फर्केका पर्यटकलाई बास बस्दा पनि वनकै झल्को दिने गरेर सौराहानजिक ‘सिद्धार्थ विलास वनवास रिसोर्ट’ सञ्चालनमा आएको छ ।

चितवनका संरक्षणकर्मी वासु ढुंगानाले नौ वर्षअघि निर्माण सुरु गरेको ‘वनवास’मा अरु साझेदार र व्यवस्थापक पनि सामेल भएका हुन् ।

पर्यटकीय क्षेत्र सौराहाबाट लगभग चार किलोमिटर पूर्व खैरहनी नगरपालिका–१३ कुरमोज हर्नरीमा साढे तीन बिघा जमिनमा ‘वनवास’ फैलिएको छ । गैंडा र बाघ पाइने कुमरोज मध्यवर्ती सामुदायिक वनअगाडि नै छ । जनकौली मध्यवर्ती वन पनि धेरै टाढा छैन । वनकै आडमा रहेको ‘वनवास’को जमिन पनि रुख बिरुवा हुर्केको वन जंगलजस्तै छ । जमिनको प्रायःजसो भाग रुखले ढाकेको छ । र बीचमा १०/१५ कट्ठा जतिको विशाल पोखरी छ ।

त्यही पोखरीको पूर्वदेखि उत्तर हुँदै पश्चिमसम्म फैलिएको भागमा ‘वनवास’का २४ वटा भिल्ला रहेका छन् । हरेक भिल्लाबाट पोखरी देखिन्छ । मान्छेले खनेको तालमा प्रशस्त माछा छन् । र वरपरका रुखमा बस्न र तालका माछा खान विभिन्न चरा आउने गर्दछन् । होटलमा बसे पनि जंगलभित्र बसेझैं आभास हुने भएका कारण ‘वनवास’ नामकरण गरेको वनवास चितवन प्रालिका अध्यक्ष वासु ढुंगानाले बताएका छन् ।

होटलमा २४ वटा भिल्ला र दुई सुइट रुमसहित ३४ वटा कोठा रहेका छन् । नेपाली र सार्क राष्ट्र र चिनियाँका साथै अमेरिकन र युरोपियन पर्यटकलाई लक्षित गरेर होटल तयार गरेको ढुंगानाको भनाइ छ । २ सय ५० देखि ४ सय डलरसम्मका कोठा रहेको उनले बताए । होटलको सेवा, खाना र सुविधाको स्तर ‘पाँचतारे’ सरहको रहेको उनले दाबी गरे । होटलको व्यवस्थापन सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीले लिएको छ ।

देशका विभिन्न ३० ठाउँमा होटल रहेको सिद्धार्थ ग्रुपको लक्जरी ब्रान्ड ‘सिद्धार्थ विलास’को दोस्रो शाखा वनवास रहेको सिद्धार्थ ग्रुपका कृष्ण न्यौपानेले बताए । यो ग्रुपले नेपालगञ्जमा चार तारे र भैरहवामा पाँच तारे होटल सञ्चालन गरेको अनुभवको आधारमा वन्यजन्तु अवलोकनका लागि प्रख्यात पर्यटकीयस्थल चितवनमा पनि सेवा विस्तार गरेको न्यौपानेले बताए । करिब ४५ करोड रुपैयाँको लागतमा ‘वनवास’ तयार भएको हो ।

रमेशकुमार पौडेल, कान्तिपुर

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार