हवाई प्रतिबन्धबारे नोभेम्बरमा निर्णय हुने

नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले नेपाललाई युरोपियन क्षेत्रमा उडानमा लगाएको रोकका विषयमा निर्णय हुने बताएकी छिन्। सोमबार सञ्चारकर्मीसँग इयू दूतावासमा आयोजित अन्तरक्रियामा लोरेन्जोले युरोपियन युनियनले नेपाली जहाजहरूलाई कालोसूचीमा राखेको नभएर हवाई सुरक्षाका विषयमा निर्णय लिएको बताइन्।

‘सेप्टेम्बरमा युरोपियन कमिसनबाट विज्ञहरूको समूहले मूल्यांकन गरेका छन्। युरोपियन कमिसनका मात्र नभए अन्य विज्ञहरूसहितको हवाई सुरक्षा समिति गठन भएको छ। त्यसको बैठक नोभेम्बरको मध्यमा बस्नेछ ।’ उनले भनिन्, ‘त्यो कमिटीले लिने निर्णयपछि मात्रै यसबारेमा थप भन्न सक्छु।’

राजदूत लोरेन्जोले नेपालमा संघीयता कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने विषय इयूको प्राथमिकतामा रहेको बताइन्। ‘धेरै देशमा संघीय सरकार र स्थानीय सरकारबीचमा तनाव हुन्छ। यो नेपालमा मात्र होइन, अभ्यास गर्दै जाँदा विषय समाधान हुन्छन्,’ उनले भनिन्। नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन्।

इयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो। मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई इयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले सुनाइन्।

नयाँ पत्रिका

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार