०७२ को भूकम्प अघिसम्म देशको हरेक जिल्लामा पुराना घरहरू प्रशस्तै थिए । दसैं अघि कमेरो र रातो माटोले घर रङ्गाउनेहरू प्रशस्तै हुन्थे । यसो गर्दा सबैलाई दसैं तिहारले भित्रैदेखि छुन्थ्यो ।
घर रङ्गाउनेहरू पूरै प्रतिस्पर्धामा हुन्थे । कसको घर राम्रो देखियो । कसको देखिएन । कसले कस्तो रङ लगायो, आदि विषयमा गफ चुट्नेहरू चौतारीमा प्रशस्तै हुन्थे ।
कसको घरमा कस्तो खसी छ ? कसको घरमा छैन ? यावत विषयमा गफ चुट्नेहरू पनि उत्तिकै हुन्थे । तर अहिले…! भो नलेखौँ ।
भूकम्पपछि बिस्तारै आधुनिक घर बन्ने क्रम बढ्न थाल्यो । पुराना शैलीका घर हराउँदै गए । कमेरो र रातो माटो खन्नेहरू हराए । खुसी हुँदै घर पोत्नेहरू पनि हराए ।
अहिलेको दसैं, दसैं जस्तो नभएर बाध्यात्मक परिस्थिति जस्तो भएको छ । धेरैलाई दसैं आएजस्तो लाग्नै छोडेको छ ।
पहिला प्रत्येक गाउँ टोलमा पिङ तथा रोटेपिङ हुन्थे । पिङ तथा रोटेपिङ बनाउनेहरू हुन्थे । अहिले गाउँबाट पिङ हराएका छन् । पिङसँगै पिङ बनाउने युवाहरू पनि हराएका छन् ।
अहिले गाउँ सुनसान बगर भएको छ । दसैँ छ । दसैँको रौनक बढाउने युवाहरू छैनन् । तिहार छ । तिहारमा भैलेनी गाउनेहरू छैनन् ।
अब एक दशक पछिको दसैँ कस्तो होला ?