पूर्व सूचक मन्दिर

दोलखा भीमसेन

काठमाण्डौंबाट १४० कि.मी को दूरिमा रहेको सदरमुकाम चरिकोटबाट चार कि.मी पूर्वमा भीमेश्वरलाई
भीमसेन पनि भनिन्छ। भीमसेन पाण्डवका माहिला भाइ हुन् । पौराणिक कालमा दोलखा सहरमा पाण्डवहरू गुप्तवास बसेको किंवदन्ती अझै प्रचलनमा छ ।

खरीको प्रस्तरबाट बनेको उक्त मूर्ति त्रिभुजकार छ । जसलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। शिलालाई तीन अवतार मानिएको छ। कसै कसैले यो मूर्तिलाई देवी भगवतीको रूप मानेका छन्। भीमसेनलाई शिवको अवतार पनि मानिन्छ । भैरव र भीम एकै रूप हुन भनिन्छ ।

त्यसैले महादेवलाई पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन र भैरवको रूपमा वली पूजा। यो चलन कहिलेदेखि बसेको भन्नेमा कुनै ठोस प्रमाण छैन । जहाँ सामान्य पूजादेखि पञ्चवली र एकल पूजा गरिने परम्परागत चलन अझै छ। पूजाको लागि गुठीको व्यवस्था छ। जहाँ चार गुठी र चार टहलुवाहरू छन्।

गुठीहरू चाडपर्वअनुसारको विशेष पूजा गर्छन् । टहलुवाहरू मन्दिर सफा गर्ने र पूजाको सरसामान मिलाउने गर्दछन् । साथै मन्दिरको रेखदेख पनि गर्छन् ।

वली पूजाको बेला महादेव भीमसेन चुडामणि गएर बस्नुहन्छ । त्यसपछि भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनविश्वास अझै छ। मूर्तिमा रातो र सेतो तल बाँधिएको छ। अर्को रोचक पक्ष भनेको, भीमसेनलाई पूर्व सूचक पनि भनिन्छ । जसले देशमा केही अनिष्ट हुनु अगावै केही सूचना छोड्ने गरेको पाइन्छ ।

मूर्ति कहिले र कसले स्थापना गरेको हो भन्नेमा कुनै प्रमाण भने भेटिएको छैन। दशैंको पूजामा किराँत देखिका राजाहरूको नाम लिने चलन छ। लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा हुँदै शाह वंशीय राजा समेतको नाम लिने गरिन्छ।

महाभारत युद्धपछि भीमसेनको मूर्ति स्थापना भएको अनुमान छ। मूर्तिको दायाँ तर्फ आमा कुन्ती , बायाँ तर्फ पत्नी द्रौपदी र त्यसको दायाँ बायाँ उत्तर दक्षिणमा भाइ नकुल र सहदेवको साधारण मूर्ति छ। युधिष्ठिर र अर्नुनको भने नामो निसान छैन।

किंवदन्ती

पाण्डव गुप्तवास जाने बेलामा यही मन्दिरको चामपूजा डाँडामा बसी श्री गौरीशंकरको प्राथना गरेका थिए । एक दिन भरियाहरूले भात पकाउनको लागि २ ओटा ढुंगा खोजी यही त्रिभुजमा जोडी चुलो बनाए। भात पकाए । पछि भात हेर्दा त्रिभुज तर्फको काँचै रहेछ । भोकाएका भरिया खुब रिसाएछन् । रिसाएका भरियाले त्रिभूजलाई हिर्काएछन् । दाहिने तर्फको त्रिभूज चोइटा हुन गएछ । चोइटाबाट दूध र रगत मिश्रित तरल निस्केछ । जो देखेर देखेर भरियाहरू निकै डराएछन् । पछि यी त साक्षत भगवान रहेछन् भनि माफी पूजा गरेर बाटो लागेछन्।

त्यो घटनाको मितिदेखि २०३०।३१ साल सम्म ती भरियाका सन्तानहरूले दशैंको अष्टमीको दिन १२ बोका पूजा गर्ने चलन थियो।

पछि सामान्य नागरिकदेखि राजा महाराजाहरूले पनि पूजा गरी सुनचाँदीका गहना चढाएको पनि देखिन्छ। वडा दशैं, चैते दशैं , कात्तिको महास्नान पूजा, भीम एकादशी, शिवरात्री, रक्षा बन्धन, लगायतका पर्वमा विशेष पूजा र भीड लाग्ने गर्दछ । दशैंमा तीन राँगो, १२ बोका, हाँस र कुखुराको विशेष वलीपूजा गरिन्छ।

वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते भीमसेनलाई पसिना आएको थियो। यी सालहरूमा पसिना आएको ६ महिनाभित्र देशमा राजनैतीक, प्राकृतिक या दरवारमा भएको घट्ना सबैलाई थाहा छ। मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले राजदरबार पठाउने र त्यहाँबाट वली पूजाको सामान पठाउने चलन थियो । अहिले राष्ट्रपति कार्यालयबाट वली पूजाको सामान पठाइने चलन छ । २०७२ को महाभूकम्प आउनुअघि पनि भीमसेनलाई पसिना आएको थियो ।

भीमसेनलाई व्यापारीहरूको प्रिय देवता इष्टदेवको रूपमा पनि पुजिन्छ। उहिले व्यापार गर्न पहाड र नदीनाला भएर टाढा जानुपर्थ्यो । टाढाको बाटोमा चोर डाँका लगायत अन्य जन्तुको भय हुने भएकोले भीमसेनलाई सम्भिएमा संकटबाट मुक्ति मिल्थ्यो र कुनै नोक्सान नहुने हुँदा व्यापारीले भीमसेनलाई इष्टदेवको प्रतिक मान्दै आएका छन् ।

अन्य चर्चित धार्मिक स्थल

शैलुङ

धेरैको आहान छ कि ‘शैलुङ पुगेर मात्र स्वर्ग जानु ।’ दोलखा जिल्लाको दक्षिण पश्चिममा रहेको शैलुङ समुद्री सतहबाट झन्डै ३५०० मीटरको उचाइमा रहेको छ । शैलुङ तामाङ भाषाबाट राखिएको नाम हो । शै को अर्थ सय र लुङ को थुम्का रहेको छ । जहाँ एउटै पहाडमा सय ओटा सुन्दर र मनमोहक थुम्का रहेकोले यसको नाम शैलुङ राखिएको हो । यी सबै थुम्काको परिक्रमा गर्न झण्डै दुईतीन दिन लाग्न सक्छ । एक दिनमा ती थुम्का घुमेर सकिनन् । जसलाई जो कोहीले सिन्धुपाल्चोकको मुडे बजारबाट पनि देख्न सक्छन् ।

विशेष त यो धार्मिक स्थल भएकोले यो ठाउँलाई शैलुङ्गेश्वर महादेव पनि भनिन्छ । जहाँ जनै पूर्णिमा लगायत विशेष तिथि मितिमा भव्य मेला लाग्ने गर्छन् ।

कालीन्चोक भगवती
चरिकोट बजारबाट १५ किलोमिटर उत्तरमा रहेको यो मन्दिर समुद्री सतहबाट ३८४२ मिटरको उचाईमा रहेको छ । कालीन्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाण्डौंको शोभा भगवती र अन्य भगवतीहरू एकै दिदीबहिनी हुन् भन्ने धेरैको जनविश्वास रहेको छ । यहाँबाट रोल्वालीङ हिमश्रृङ्खला लगायत अन्य धेरै प्रकृतिक मनोरम दृश्यहरू देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार