गोरखा दरबारमा जमरा

गोरखा — दसैंको पहिलो दिन आइतबार गोरखा दरबार क्षेत्रमा तीन पाथी जौको जमरा राखिएको छ । ११:२९ को उत्तम साइतमा गोरखा कालिका मन्दिरको दसैंघर र गोरखनाथ मन्दिरमा ११/११ माना, उपल्लो कोट र तल्लो कोटमा १/१ माना जौको जमरा राखिएको गोरखा दरबारका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताएका छन् ।

नवरात्रको पहिलो दिन आइतबार बिहान सवा ५ बजे भगवतिलाई कैलाश कोठाबाट गर्भगृह (दसैंघर) मा ल्याइएको थियो ।

झिसमिसे उज्यालोमै भगवती सार्ने प्रचलन छ । नवरात्र भर गोरखा दरबारमा विशेष पूजा हुनेगर्छ । ‘आज पहिलो दिन नवदुर्गाको नौ रुपमध्ये शैलपुत्रीको पूजा आरधना गर्‍यौँ,’ उनले भने । गोरखा दरबारमा जमरा राख्नका लागि उपल्लो कोटबाट माटो ल्याएर दसैंघर लिपपोत गरिएको थियो । ‘पूजाका बेला बज्ने मालश्री धुन पनि यो बेला परिवर्तन हुन्छ, काया अष्टमीमा मालश्री गाउने, हेराएर जमारा राख्ने प्रयोजनका लागि उपल्लो कोटबाट माटो ल्याएर दसैंघर लिपपोत गरेका थियौं,’ उनले भने ।
नवरात्र अवधीभर गोरखा दरबारमा १६ राँगा, ३६ बोका, १० भेडा ८ कुखुरा, ५ सुँगुर गरी ७५ वटा सरकारी बली चढ्ने पनि भट्टराईले जानकारी दिए । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबार र गोरखा कालिका मन्दिर पुनर्निर्माण सकिएकाले विगतका वर्ष जस्तो पुजामा भक्तजनलाई असहजता नरहेको पनि उनले बताए ।

‘विगतको वर्ष ठाउँ व्यवस्थापन गाह्रो थियो, कालिका मन्दिर मर्मतको क्रममा गोरखा दरबारको एउटा कोठाबाट पूजाको व्यवस्थापन मिलाएका थियौं, कालिका मन्दिरको मर्मत सकिएपछि गत असार १८ गते वास्तु र क्षमा पुजा गरेर साविककै ठाउँबाट पुजा शुरु भइसकेको छ,’ उनले भने, ‘विगतमा जस्तो असहजता छैन, भक्तजनले पनि सजिलोका साथ पूजा गर्न सक्नुहुन्छ ।’

कान्तिपुर

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार