सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौं, सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

मंगलबार उपसमितिले सुझावसहित आफ्नो प्रतिवेदन बुझाएको थियो । उक्त सुझावलाई समेटेर आज सर्वसम्मत रुपमा विधेयक पारित गरिएको हो ।

प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने) मा व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको छ ।

समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ । तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रस्ताव गरिएको छ ।

रिपोर्टस् नेपाल

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार