नेप्सेमा झिनो सुधार

काठमाडौँ, अघिल्ला तीन दिन लगातार घटेको नेप्सेमा बुधबार झिनो सुधार देखिएको छ । तीन दिनमा गरेर करिब ६८ अंकले घटेको नेप्सेमा केही खरिद माग बढेकाले बुधबार बजारमा सामान्य सुधार देखिएको हो ।
तीन दिन लगातार घटेको नेप्सेमा झिनो सुधार, कारोबार रकम भने घट्यो

जानकारहरुले यसलाई सुधार भन्दा पनि ‘करेक्सन’ भएको रुपमा विश्लेषण गरेका छन् । बुधबार ५.१६ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ८ सय ९४.७६ अंकमा बन्द भएको छ ।

गत आइतबार करिब साढे ३६ अंक, सोमबार साढे १२ अंक र मंगलबार करिब १९ अंकले नेप्से घटेको थियो । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार देखि मंगलबारससम्म नेप्सेमा गिरावट आएको थियो ।

यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ । यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो ।

बुधबार ५५ हजार १९७ वटा कारोबारबाट ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो ।

गत मंगलबार सेयर बजारमा १ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबार कारोबारमा आएकामध्ये १३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८५ वटा कम्पनीको घट्यो भने १२ वटाको सेयर मूल्य स्थिर छ ।

कान्तिपुर

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार