गएको एक महिनामा ९१ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, सेप्टेम्बर २०२३ मा ९१ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपालमा पर्यटकीय सिजन सुरु हुनु अगाडि अथार्त पोस्ट मनसुन सिजनमा आएको यो संख्या उत्साहजनक मानिन्छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए ।

यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए ।

भारतीय पहिलो र चिनियाँ दोस्रो स्थानमा

एक महिनाको अवधिमा भारतीय पर्यटक नेपालमा सर्वाधिक संख्यामा आएको देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय नेपाल आएको तथ्यांकमा उल्लेख छ । चिनियाँ पर्यटक ८ हजार १७४ जना आएका थिए । अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका थिए ।

९ महिनामा झण्डै ७ लाख पर्यटक

बोर्डका अनुसार यस वर्षको ९ महिनाको अवधिमा झण्डै ७ लाख पर्यटक नेपाल आएका थिए । जनवरीदेखि सेप्टर २०२३ को बीचमा ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका थिए ।

सरकारले यस वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य बजेटमार्फत लिएको छ । यो पूरा गर्न जारी पर्यटकीय सिजनमा अधिक संख्यामा पर्यटक भित्रनु पर्छ । सन् २०१९ मा आएको पर्यटक संख्या तुलना गर्दा सन् २०२३ मा ९८.२८ प्रतिशत पर्यटन आगमन देखिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार