एमालेले बिदेशिक रोजगारी ठगीका आरोपी फारुकीलाई केन्द्रीय सदस्यमा हटायो

‘विदेश पठाइदिन्छु’ भनेर पैसा लिई सर्वसाधारणलाई अलपत्र पारेको भन्दै पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा गराएको छ।

मुस्लिम समुदायको कोटाबाट समानुपातिक सूचीको पहिलो नम्बरमा परेका फारुकी केही समयअघिसम्म वैदेशिक रोजगार व्यवसायमा संलग्न थिए।

फारुकीले विदेश पठाउँछु भन्दै सर्वसाधारणसँग रकम असुल गरेर उनीहरूलाई अलपत्र पारेको आरोप लागेपछि बिहीबार बसेको एमाले सचिवालय बैठकले उनको राजीनामा माग गरेर स्वीकृत गरिसकेको छ।

सर्वसाधारणसँग गैरकानुनी ढंगले रकम असुलेको आरोप लागेर पार्टी केन्द्रीय सदस्यबाट राजीनामा गराएको एमाले फारुकीको संसद पदबारे भने अहिलेसम्म मौन बसेको छ।

एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले पार्टीले केन्द्रीय सदस्यबाट राजीनामा गराएको भए पनि फारुकीविरूद्ध जिल्लामा कुनै पनि उजुरी नपरेको बताए।

शर्माले फारुकीविरूद्ध केही समय पहिला लेनदेनको सामान्य विवाद रहेकोमा त्यो उनले  स्थानीय तवरबाटै मिलाएको भन्दै त्यसबाहेक जिल्लामा कुनै पनि उजुरी नपरेको बताए।

‘केही समय पहिला लेनदेनको सामान्य विवाद आएको थियो त्यो उतिबेला नै स्थानीय तवरमै मिलेको थियो, त्योबाहेक अरू कुनै निवेदन जिल्लामा परेको जानकारी छैन पार्टी केन्द्रले के कति कारणले राजीनामा गरायो भन्ने केन्द्रलाई नै जानकारी होला,’ शर्माले भने।

एमालेका कतिपय सदस्यले भने सर्वसाधारणसँग गैरकानुनी ढंगले रकम असुलेको आरोप लागिसकेपछि केन्द्रीय सदस्यसँगै संसदीय फाँटबाट पनि राजीनामा गराउने पर्ने बताएका छन्।

एमालेका एक केन्द्रीय सदस्यले आरोप लागेर केन्द्रीय सदस्यबाट राजीनामा गराइसकेपछि संसदीय फाँटमा राखिराख्नु उचित नहुने बताए।

‘राज्यको नीति निर्माण गर्ने थलोमा पुगेको व्यक्तिले सर्वसाधारणलाई ठगी गरेको विषय गम्भीर हो, पार्टीले केन्द्रीय सदस्यबाट राजीनामा गराएको हो भने संसदीय फाँटबाट पनि राजीनामा गराएर शुद्धीकरणको सन्देश दिनुपर्छ,’ ती सदस्यले भने।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार