मस्कलाई चेतावनी

काठमाडौँ — युरोपेली संघ (ईयू) का आयुक्त थियरी ब्रेटनले इलन मस्कलाई पत्र लेख्दै सो सामाजिक सञ्जालमा अवैधानिक र मिथ्या सूचना नफैलाउन र त्यस्तो कार्य रोक्न गरिएको पहलबारे आगामी २४ घण्टाभित्र आफ्नो जवाफ पेस गर्न निर्देशन दिएका छन् ।

इजरायलमाथि भएको हमासको आक्रमण र त्यसपछिका घटनाक्रमबारे मिथ्या सूचना फैलाउन एक्सको प्रयोग भएको संकेत पाएको जानकारी गराउँदै ब्रेटनले युरोपमा अगस्टबाट लागू भएको डिजिटल सर्भिस एक्टअनुसार कन्टेन्ट मोडरेसन गर्न भएका प्रयासबारे जानकारी गराउन भनेका छन् । ‘प्रथमत: तपाईंको आफ्नै नीतिअनुसार कस्ता विषयवस्तु आफ्ना प्लाटफर्ममा सेयर हुन दिने र आफ्ना नीतिहरू कसरी इमानदारीपूर्वक लागू गराउने भन्ने विषयमा पारदर्शी र स्पष्ट हुन जरूरी छ । पत्रमा भनिएको छ, ‘त्यस्तै कुनै अवैधानिक विषयवस्तु सेयर भएको सूचना पाइसकेपछि त्यसलाई हटाउन वा नियमन गर्न पनि चुस्त, स्फूर्त र इमानदार हुनुपर्ने थियो । तर एक्समा सेयर भएका मिथ्या सूचनाका आधारमा सिर्जना हुने सार्वजनिक छलफल र सर्वसाधारणको सुरक्षामा पर्न जाने जोखिमबारे पनि आवश्यक नियमन र नियन्त्रणका उपायहरू अपनाउनुपर्ने थियो ।’

ब्रेटनले यी समस्या रोक्न अपनाइएका पहलहरू प्रभावकारी भए नभएको बारे यथाशीघ्र आफ्नो टिमलाई जानकारी गराउन आग्रह गरेका छन् । गत शनिबार इजरायलका विभिन्न भागमा हमासले गरेको आक्रमण र त्यसयता इजरायल-प्यालेस्टाइनबीच बढ्दो तनावको सेरोफेरोमा मस्कले स्वामित्व लिएयता खुकुलो बनाइएको एक्स (ट्वीटर)मा विभिन्न हिंसात्मक तस्बिर तथा भिडियोहरू जाँचका क्रममा मिथ्या भेटिएका र कतिपय कन्टेन्टहरू छरपस्ट सेयर भएका छन् । उदहारणका लागि एक्समा हालैको द्वन्द्व भन्दै भाइरल गराइएका कतिपय फुटेज र तस्बिर इजिप्टमा गत महिना छायांकन भएका भिडियो गेमका क्लिपहरूसमेत रहेका छन् । हालको द्वन्द्वसँगै त्यसको कुनै सम्बन्ध छैन ।

अनलाइन प्रविधि म्यागेजिन वायर्डले मङ्गलबार प्रकाशित गरेको लेखमा पनि पछिल्लो द्वन्द्वको आसपास एक्स कसरी मिथ्या सूचनाको भूमरीमा फसेको छ भन्ने विश्लेषण गरिएको थियो । सामाजिक सञ्जाल एक्सले इजरायल-प्यालेस्टाइन द्वन्द्वको पहिलो दिनमै आफ्नो प्लाटफर्ममा सो विषयका झन्डै ५ करोड कन्टेन्ट सेयर भएको जानकारी दिएको थियो । मस्कले आफैं पनि सो द्वन्द्वबारे विवादास्पद पोस्ट गरेर पछि हटाएका थिए । मस्कले पछिल्लो अपडेटमा भेरिफाइड एकाउन्टलाई मात्रै रिप्लाई गर्न दिन आग्रह गरे पनि मिथ्या सूचना फैलाउन खुकुलो बनाइएका भेरिफाइड एकाउन्टहरूकै हात रहेको देखिएको समाचार संस्थाहरूको दाबी छ ।

‘विभिन्न कारणले कुनै पनि संकटबारे सूचना प्रवाह गर्न यो मैले अनुभव गरेको सबैभन्दा कठिन समयमध्ये एक हो,’ वायर्डसँगको कुराकानीमा अलाबामाका अनलाइन रिसर्चर जस्टिन पेडेनले भनेका छन्, ‘लिंकलाई तस्बिरमा बदलिएको छ, संकटग्रस्त क्षेत्रबाट सही सूचना पठाउने पत्रकार र सञ्चार संस्थाहरू महङ्गो ब्लु टिकका अभावमा धेरै अडियन्ससम्म पुग्न सक्दैनन्, सोही समय प्लाटफर्मका प्रमुख आफैं घृणा फैलाउन उद्दत गुन्डाहरूलाई प्रवर्द्धन गर्नमा रमाएका छन् ।’ विश्वमा हुने कुनै पनि संकट वा ठूला घटनालगत्तै त्यसको आसपासको बहसलाई आफू अनुकूल नियन्त्रण गर्ने हेतुले सामाजिक सञ्जाललगायत अनलाइन प्लाटफर्मको प्रयोग हुने क्रम बढ्दो भए पनि पछिल्लो इजरायल-प्यालेस्टाइन तनावयता मिथ्या सूचनाको प्रसार अभूतपूर्व गतिमा भएको प्रविधि विज्ञहरूको अनुभव छ ।

ईयूका आयुक्त ब्रेटनले यही सन्दर्भमा मस्कलाई युरोपेली संघका सम्बन्धित कानुनी निकायलाई तत्काल सम्पर्क गर्न र आफ्नो टिमसँगै ती निकायका चासो र चिन्ताका विषयलाई तत्काल सम्बोधन गर्न भनेका छन् । उनले आफूले दिएको समयसीमाभित्रै जवाफ दिन र सो जवाफलाई मस्कको प्लाटफर्मले युरोपेली डिजिटल कानुनको पालना गरे/नगरेको मूल्यांकन फाइलमा सामेल गरिने उल्लेख गर्दै सो सम्बन्धमा अनुसन्धान सुरू भएको र पालना नगरेको पाइए जरिवाना र सजाय हुने स्पष्ट पारेका छन् । सो पत्रको सम्बन्धमा यो समाचार तयार पार्दासम्म एक्स वा मस्कको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

कान्तिपुरको वालबाट

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार