अन्योलका बीच अल जजिरा एयरवेजले गौतम बुद्ध विमानस्थलमा पुनः उडान भर्ने

रुपन्देही  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले कुवेतको जजिरा एयरवेजबाट पुनः उडान थाल्ने तयारी गरेको छ ।

१५ महिनाअघि नै सेवा सुरु गर्दै आएको जजिराले पटक पटक उडान स्थगित गरिरहेको थियो । आउँदो अक्टोबर ३० बाट यसले पुनः उडान थाल्ने तयारी गरेको छ । यस विमानस्थलबाट सुरु भएको पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने जहाज जजिरा नै भए पनि उक्त जहाज पटक पटक विविध समस्याले स्थगित हुँदै आएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले आउँदो हिउँदबाट उडानलाई पुनः निरन्तरता दिने गरी जजिराले नागरिक उड्यान प्राधिकरणमा स्वीकृतको लागि निवेदन गरिसकेको बताएका छन् । वर्षा याममा उडान स्थगित गरेपनि जजिराले आउँदो हिउँदमा पुनः निरन्तरता दिने भनि स्वीकृतको लागि पठाएको निवेदनको जानकारी प्राप्त भएको उनले बताएका छन् । उडानको बर्खे तालिका आउँदो अक्टोबरमा सकिन्छ ।

अक्टोबर ३१ देखि ६ महिना हिउँदको उडान तालिका खुल्छ । १५ महिना अघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसँगै जजिराले उडान सुरु गरेता पनि बिमानस्थलमा हुस्सु र कुहीरो अन्य जहाज कम्पनीको आफ्नो आन्तरिक कारण जहाज अवतरणमा समस्या देखा परेको हुँदा २ पटक उडान स्थगित भएको थियो । साथै पछिल्लो समय व्यावसायिक कारण देखाउँदै गएको जेठबाट उडान रोकिएको थियो ।

यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधवार र शुक्रवार कुवेत र भैरहवा उडान गर्दै आएको थियो । फेरि सोही तालिकामा उडान गर्ने छ । ४ महिनादेखि रोकिएर बसेको जजिराको उडान पुनः नियमित हुन्छ भन्नेमा पर्यटन व्यवसायीहरू भने ढुक्क छैनन् ।

भारतसँगको हवाई रूट र हुस्सु लाग्दा आउने प्राविधिक समस्याको विविध कारणहरू विमान कम्पनीले बताउँदै आएको भएपनि ती समस्याको समाधान हुन सकेको छैन । अरबौं लगानीमा उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि बिमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकाले स्थानीय होटल अझ थप घाटामा जाने पीरले व्यवसायीहरू ढुक्क हुन सकेका छैनन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार