राजबिराजमा नियमित हवाई उडान

लामो समय बन्द भई पुनः सञ्चालनमा आएको सप्तरीको राजविराज विमानस्थलमा पछिल्लो साढे ३ वर्षभन्दा बढी समयदेखि नियमित हवाई उडान हुँदै आएको छ।

बुद्ध एयरले अहिले दैनिक रूपमा काठमाडौं–राजविराज–काठमाडौं एउटा उडान गर्दै आएको छ । उडान नियमित भएपछि यात्रुको चाप पनि बढ्दै गएको छ । उडान अनियमितताको नियति भोग्दै आएको राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको हो । बुद्धको ७२ सिटे जहाज दैनिक रूपमा दिउँसो काठमाडौंबाट यात्रु लिएर राजविराज उत्रने र यहाँबाट यात्रु लिएर काठमाडौं फर्किने गरेको छ।

एकाध दिनबाहेक बुद्ध एयरले नियमितरुपमां क्षमताअनुसार यात्रु लिएर आउने–जाने गरेको बुद्ध एयरका स्टेसन म्यानेजर अनिल राजवंशीले जानकारी दिएका छन्। ‘कहिलेकाहीँ केही सिट खाली हुन्छ । नभए सधैं सिटअनुसार नै यात्रु हुन्छन् ।’ राजवंशीले भनेका छन्।

राजविराज विमानस्थलबाट सप्तरी, सिरहा र उदयपुरसँगै सुनसरीको पश्चिमी भागको यात्रु र भारतीय यात्रुहरूसमेत हवाई सेवा प्रयोग गर्ने गरेका छन्। भारतीय सीमाभन्दा सात किलोमिटर उत्तरमा यो विमानस्थल रहेको छ। बुद्ध एयरले हवाई उडान सुरु गरेयता काठमाडौं–राजविराज र राजविराज–काठमाडौं गरी एक लाख ३० हजार यात्रुले हवाई सेवा लिसकेका छन्। सीमा नजिकै रहेका कारण भारतीय यात्रुका लागि समेत राजविराज विमानस्थलवाट हवाई सेवा लिन सहज भएको छ।

२०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै राजविराज विमानस्थलमा विमान सेवा बन्द भएको थियो। बीचबीचमा केही समय विमानस्थलमा जहाज आए पनि कच्ची धावन मार्ग तथा अन्य प्राविधिक समस्याका कारण राजविराज विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन।

राजविराज विमानस्थल कार्यालयका अनुसार ०५२ सालमा केही दिन यहाँबाट उडान भएपनि धेरै दिन चल्न सकेन। त्यसपछि २०६६ सालमा केही दिनका लागि मात्र राजविराज विमानस्थलबाट पहाडी जिल्लाका लागि उडान भएर फेरि बन्द भएको थियो। विगतमा कच्ची धावन मार्गको कारण देखाउँदै यहाँबाट विमान सेवा ठप्प हुने गरेको थियो। ३० करोड रुपैयाँभन्दा बढीको लागतमा राजविराज विमानस्थलमा पक्की धावनमार्गसहितका अन्य पूर्वाधारहरू तयार भएपछि अहिले उडान नियमित हुन सकेको हो। २०७३ साल असोजमा सुरु भई २०७५ वैशाखमा विमानस्थलको पक्की धावन मार्गसहितका संरचना निर्माण भएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार