दशैँ अगाडि नेप्से घट्दो क्रममा

काठमाडौँ, सदा झैँ यस वर्ष पनि दशै अगाडि नेप्से घट्ने गरेकोमा यस वर्ष पनि नेप्सेले ओरालो लाग्ने आफ्नो पुरानो विशेषता कायमै राखेको छ । आइतबार करिब साढे ३६ अंकले घटेको नेप्से सोमबार १२.५८ अंकले घटेको हो । योसँगै नेप्से १ हजार ९ सय ८.६६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.६५ प्रतिशतले कम हो ।

नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्च गिरावट आएको थियो । यसलाई राष्ट्र बैंकको पछिल्लो नीतिगत संशोधनलाई लगानीकर्ताले सकारात्मक रूपमा नलिएको रूपमा विश्लेषण गरिएको छ । पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ ।

यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो । उक्त सीमा बढेसँगै सेयर बजारमा सुधार आउने अपेक्षाविपरीत आइतबार र सोमबार नेप्से उच्च अंकले घटेको लगानीकर्ताको दाबी छ । लगानीकर्ताको अपेक्षा सेयर कर्जाको सीमा हट्ने वा धेरै माथि रहने अनुमान गरे पनि राष्ट्र बैंकले थोरै मात्र बढाएकाले बजारमा सकारात्मक असर नदेखिएको उनीहरुको भनाइ छ ।

सोमबार ४६ हजार १ सय २७ कारोबारबाट ४३ लाख २७ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब १७ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार सेयर बजारमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये १५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६६ वटा कम्पनीको बढ्यो भने १० वटाको सेयर मूल्य स्थिर छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार