एकभन्दा बढी महादेश र ६ राष्ट्रमा आयोजना हुने पहिलो विश्वकप

सन् २०३० को विश्वकप फुटबल तीन महादेशका ६ देशमा आयोजना हुने फिफाले जनाएको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोले विश्वकप आयोजनाका लागि प्रस्ताव गरेकोमा अब अर्जेन्टिना, पाराग्वे र उरूग्वेमा पनि खेल गराउने नयाँ प्रस्ताव फिफाले स्वीकार गरेको समाचार एजेन्जी एपीले जनाएको छ।

अब युरोपका स्पेन र पोर्चुगल, अफ्रिकाको मोरक्को तथा दक्षिण अमेरिकाका अर्जेन्टिना, पाराग्वे र उरुग्वे गरी ६ राष्ट्रमा विश्वकप आयोजना हुनेछ।

२०३० को उद्घाटन खेल १९३० को पहिलो संस्करणको विश्वकप आयोजना भएको उरूग्वेको रंगशालामा गर्ने योजना छ।

सन् २०३० को विश्वकप एकभन्दा बढी महादेश र ६ राष्ट्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ।

फिफाले पनि २०३४ को विश्वकपका लागि एसियाली फुटबल महासंघ र ओशिनिया फुटबल कन्फेडेरेसनका देशको प्रस्ताव मात्र स्वीकार गर्ने पुष्टि गरेको छ।

यो निर्णयपछि साउदी अरेबियाले पहिलो पटक सन् २०३४ मा प्रतियोगिता आयोजना गर्नका लागि प्रस्ताव गर्ने घोषणा गरेको छ।

यदि २०३० प्रस्ताव स्वीकृत भएमा मोरक्को २०१० मा दक्षिण अफ्रिकापछि विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी राष्ट्र हुनेछ।

स्पेनले पछिल्लो पटक सन् १९८२ मा विश्वकप आयोजना गरेको थियो।

पोर्चुगलले कहिल्यै प्रतियोगिता आयोजना गरेको छैन, तर त्यहाँ युरो २००४ आयोजना भएको थियो।

अघिल्लो विश्वकपमा जस्तै उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्को सबै सह-आयोजकका रूपमा स्वतः छनोट हुनेछन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार