भर्खरै पोर्चुगलको भ्रमण गरी आएका एक गार्मेन्ट व्यावसायिका अनुसार पोर्चुगलको राजधानी तथा अन्य केही सहरमा केही सङ्ख्यामा नेपालीहरू देखिने गरेका छन् । चोक, सडक पेटी तथा साना तिना होटलमा नेपाली आवाजहरू सुनिन्छन् । कहीँ कतै चोक तथा सडक छेउमा सानो तिनो नेपाली होटल पनि खुलेका छन् । जहाँ आफूले चाहेको नेपाली परिकार खान पाइन्छ । ती होटल तथा सडक पेटीमा रक्सीले लठ्ठ भएका नेपालीहरू भेटिनु कुनै नौलो कुरा हैन ।
पोर्चुगलमा नेपालीहरुको संख्या यति बढि सकेको छ कि त्यहाँको कुनै पनि सहरमा खुलेका होटलमा नेपाली नपुगेको र काम नगरेको होटल वा स्थान भेट्न खासै गाह्रो पर्दैन ।
केही महीना अगाडि दुई जना युवाहरुको फरक फरक तरिकाले मृत्यु भयो । एकजना झापाका ३१ वर्षीय अजय थापाले आत्माहत्या गरे भने अर्का बाग्लुङका २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतेकै ठाउँमा मृत्यु भयो । यी त प्रतिनिधि घटना हुन् ।
वार्षिक पाँच देखि ६ जनाका दरले पोर्चुगलमा नेपालीहररूको मृत्यु हुने विभिन्न आँकडाहरुले देखाएको छ । गैर आवासिय नेपाली संगठनमा लगभग २ हजारको संख्यामा नेपाली सदस्यहरु रहे पनि पूरै पोर्चुगलमा जम्मा जम्मी ५० हजार नेपालीहरू रहेको पाइएको छ । यसरी केही नेपालीहरूको अकाल मृत्यु हुनु हाम्रो लागि सुखद् पक्ष भने हैन ।
नेपालीहरुको दुःखद् मृत्यु हुनुमा उनीहरुले पारिवारीक समस्या, बेरोजगारी र तनाव व्यवस्थापन गर्न नसकेको कुरा गैरआवासिय अध्यक्ष उमेश खड्काले बताए । नेपालीहरु विश्वभर मेहनती छन् भनेर चनिए पनि पछिल्लो समय पोर्चुगल पुगेका केही नेपाली युवा वर्गमा देखिएको अल्छिपनाको कारण उनीहरु बाटोमा बसी मागी खाने तथा विविध कुलतको शिकार भएका छन् ।
पचास हजारको हाराहारीमा रहेका नेपालीहरुमध्ये केहीले मागेर खानुपर्ने अवस्थाको कारण चाहिँ उनीहहरूको आफ्नै गल्ती हो । पोर्चुगलमा ढिलो चाँडो सानोतिनो काम पाइन्छ । अझ राजधानी बाहिर त झनै पाइन्छ । काम गर्न नचाहनेका लागि भने पोर्चुगल निकै कठिन ठाउँ हो । कठिन् नै भएपनि खानकै कारणले मर्नुपर्ने अवस्था भने नरहेको अध्यक्ष बताउँछन् ।
घरबार बिहीनहरुलाई पोर्चुगल सरकारले केही सुविधा दिँदै आएको छ । सित्तैमा पाइने सुबिधाको कारण पनि त्यसो भएको हुन सक्छ । पोर्चुगल सरकारको आधिकारीक र सरकारी सामाजिक सेवा प्रदायक निकाय, जसलाई ‘सान्ता गाजा’ भनिन्छ । जसले मागी खाने स्वदेशी वा विदेशी नागरिकहरुको लागि दैनिक खाना तथा बासको व्यवस्था गर्ने गर्दछ । वहाँका अनुसार नेपालीहरुलाई भने खानाको मात्रै व्यवस्था गरिदिएको छ । यसरी सडक सडकमा मागेर खाने चलन नेपालीहरुले नै सुरु नगरे पनि सन् २००३ को आसपासमा पोर्चुगल पुगेका नेपालीहरु पनि यसरी नै माग्दै हिँडेको अवस्थामा भेटिएको छ । जहाँ सडकमा बसी मागि खानेहरुमा स्थानीय नागरिक पनि उत्तिकै रहेको पाइएको छ ।
यसरी यत्र तत्र मागी खाने तथा बाटो मै सुत्नु पर्ने अवस्थाका नेपालीहरुलाई उद्दार गरेर स्वदेश फर्काउन आफूहरु तयार भए पनि उनीहरु नेपाल फर्कन नचाहने गरेको कुरा गैरआवासिय नेपाली संगठन एन। आर। एन। ए। पोर्चुगलका अध्यक्षले बताएका छन् । हामीले भेटेका केही मागिखाने नेपालीहरुलाई नेपाल फर्काउन कोसिस गर्यौ तर उनीहरू नेपाल फर्कन चाहँदैनन् ।
यसरी ‘सान्ता गाजा’ अर्थात ‘पबित्र केटी’मा उपलब्ध हुने खाना भने पाँचतारे होटलमा एकदिन अगावै तयार भएको हुने स्थानीय होटल सञ्चालक प्रकाश श्रेष्ठले बताए । नेपालीहरु त्यहाँ खासै नगए पनि भोक लागेपछि भने त्यहाँबाट उपलब्ध खानाको सेवा लिने गरेका छन् ।
लामो समयदेखि मागेरै गुजारा चलाइरहेका नेपाली वा विदेशीहरुका लागि पोर्चुगल सरकारले अस्थायी बसोवासको कागजाज भने दिँदैन । केही नेपालीहरुको अवस्था नाजुग भएपनि उनीहरु काम नपाएर सडकमा आइपुगेका भने हैनन् । निशुल्क खान पाएपछि कसले काम गरोस् रु भर्खरै पोर्चुगल पुगेका एक नेपाली भन्छन् ।
नेपालीहरुको संख्या जतिसुकै भएपनि लगभग २ हजारको सँख्यामा रहेका नेपालीहरुले राम्रै व्यवसाय गरेपनि लगभग ५ सयले जातिले भने अति नै राम्रो व्यवसाय गरी बसेको भनि लामो समयदेखि व्यवसाय गर्दै आएका उदय श्रेष्ठ तथा राम कुँवरले बताए ।
त्यहाँ मागी खानेहरुमा नेपालीहरुभन्दा पनि बढिको सँख्यामा पोर्चुगिज र अन्य देशका नागरिक रहेको केही तथ्यांकले देखाउने गरेको छ ।
पोर्चुगल सरकारले युरोपको कुनैपनि देशमा वैधानिक वा अवैधानिक जुनसुकै तरिकाले पुगेको भएपनि पोर्चुगलमा बस्न चाहनेले वैधानिक रुपमा प्रवेश गरेको प्रमाण पेश गरी व्यक्तिगत कर प्रणालीमा आफ्नो नाम दर्ता गरे कुनै पनि देशका नारिकहरुले आफ्नो देशमा बस्ने अनुमति प्रदान गर्ने गरेको छ ।
अस्थायी बसोबास पूरा भएको लगभग ७ बर्ष पछि सरकारले नागरिकता दिए पनि नेपालीहरु भने पोर्चुगल सरकारले दिएको सुविधा प्रयोग गर्दै बेलायत, डेनमार्क र नर्वे जस्ता देशमा बसाइँ सराइ गरिरहेका छन् । यसले नेपालीहरुको बसाइँ सर्ने चरित्रमा आएको विविधता दर्शाउँछ ।
आजकल राजधानी लिस्वनमा कोठा तथा काम पाउन लगभग असम्भव जस्तै भएको छ । यस्तो अवस्थाको जानकारी हुँदाहुँदै पनि बरु जस्तोसुकै दुःख कष्ट सहन आफू तयार भएको र त्यहाँको दुःख कष्टले आफ्नो भविस्य सुरक्षीत हुने कुरा नेपालबाट स्पेन जाँदै गरेका एक यात्रीले हामीलाइ बताए ।
आफ्नो सपना पुरा गर्नैका लागि नेपाल तथा अल्पविकसित मुलुकका धेरै युवाहरु विविन्न माध्यम हुँदै पोर्चुगल पुग्ने गरेका छन् । तर जुन सपना बोकेर नेपालीहरु पोर्चुगल जाने गरेका छन्, त्यो पूरा गर्न भने त्यति सजिलो नरहेको अध्यक्ष बताउँछन् ।